काठमाडौँ- आईसीओ वर्ल्ड कम्ब्याट मार्सल आर्ट्स च्याम्पियन्सिपमा निराजन मुक्तानले २ वटा स्वर्ण जितेका छन् ।
जर्मनीको फ्रेङफर्टमा भएको प्रतियोगितामा मुक्तानले दोहोरो स्वर्ण र इजिकेल परियारले कांस्य पदक जितेको नेपाल उमा कुङफु संघका महासचिव भूपेन्द्र गुरुङले जनाएका छन् । नेपालले उक्त प्रतियोगितामा ३ पदक जितेको छ ।
महासचिव गुरुङका अनुसार निराजनले किक बक्सिङको पुरुष ६० केजीमुनिको फाइनलमा इङल्यान्डका खेलाडीलाई पराजित गरी स्वर्ण जितेका हुन् । त्यसअघि उनले फ्रान्स, जर्मनी र युक्रेनका खेलाडीलाई हराएका थिए । निराजनले अर्को स्वर्ण चाइनिज फम्सको नान् छ्वानमा जितेका हुन् । यो स्पर्धामा निराजनले जर्मनी, युक्रेन, साइप्रस, इङल्यान्ड र स्कोटल्यान्डका खेलाडीलाई पछि पारेका थिए ।
इजिकेलले किक बक्सिङको पुरुष ७०–७५ केजीमा कांस्य हात पारे । इजिकेल सेमिफाइनलमा जर्मनीका खेलाडीसंग पराजित भएका थिए । अघिल्ला चरणमा इजिकेलले इङल्यान्ड र स्कटल्यान्डका खेलाडीलाई पराजित गरेकाथिए ।
इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आईसीओ), जर्मनीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न ३० राष्ट्रका ७ सय ५ खेलाडीको सहभागिता रहेको थियो ।