काठमाडौँ- यस वर्षको मनसुन बाहिरिए सँगै देशभरको तापक्रम क्रमश: घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
असोज २६ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशको पश्चिमी भूभाग असोज २० गतेबाट सुरु भई असोज २६ मा देशैभरबाट मनसुन बाहिरिएको हो ।
पछिल्लो दिनमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली सँगै वर्षा भइरहेको छ । साथै क्रमशः चिसो पनि बढ्दै गइरहेको जनाइएको छ।
पछिल्लो एकसातामा काठमाडौं उपत्यकाको तापक्रम क्रमिक रुपमा घटिरहेकोले चिसो बढेको महाशाखाले जनाएको छ ।
असोज १५ गते न्यूनतम २० डिग्रिसेल्सियस हाराहारी रहेको काठमाडौँको तापक्रम एकसातापछि न्यूनतम तापक्रम १७ डिग्री हाराहारीमा थियो । गएको १५ दिनमा तापक्रम विस्तारै घटिरहेको छ ।
महाशाखाको अनुसार आइतबार १४ दशमलव ७ डिग्रिसेल्सियसमा झरेको काठमाडौँको न्यूनतम तापक्रम सोमबार १५ डिग्रिसेल्सियस रहेको थियो । काठमाडौंसहित देशका अधिकांश स्थानमा तापक्रम घटेको सँगै बिहान र बेलुकी हल्का चिसो बढेको महसुस थालेको छ ।
दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढेको महाशाखाको तथ्यांकमा पनि देखिएको छ । मनसुन बहिर्गमन सँगै चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।