काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउन अनुरोध गर्नुभएको छ।
आज जारी गरेको भिडियो सन्देशमा मन्त्री पौडेलले नेपालमा पाठेघरको मुखको क्यान्सरको जोखिम बढिरहेको तथ्याङ्कको आधारमा किशोरीहरूलाई खोप लगाउन आग्रह गर्नुभएको हो। उहाँले प्रारम्भिक किशोरावस्थामा एचपिभी खोप लगाउँदा पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने धारणा व्यक्त गर्नुभयो।
मन्त्री पौडेलले भनाइमा उल्लेख गर्नुभयो, “सरकारको नीति तथा कार्यक्रममा एचपिभी खोप ल्याउने योजना अनुसार खोप ल्याएर देशभर अभियान सञ्चालन गरिरहेका छौँ।” यो अभियान कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई स्वास्थ्य सेवा विभागमार्फत खोप दिइरहेको छ।
उहाँले आगामी वर्षदेखि कक्षा ६ का छात्राहरू र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई नियमित अभियानमार्फत खोप दिइने जानकारी पनि दिनुभयो। मन्त्री पौडेलले अभियानको सफलताका लागि सङ्घ, प्रदेश र स्थानीय तहका स्वास्थ्य र शिक्षा प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालगायत सबैलाई सहभागिता जनाउन आह्वान गर्नुभयो।
यस अभियान अन्तर्गत, २२ माघदेखि ६ फागुनसम्म देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९ सय किशोरीलाई विद्यालयमा गएर खोप दिइने मन्त्रालयले जानकारी दिएको छ।