काठमाडौँ,नेपाली काँग्रेसले सरकारमा पार्टीको उपस्थिति अझ सशक्त बनाउनुपर्ने निष्कर्ष निकालेको छ। पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित बैठकमा मन्त्रीहरू र शीर्ष पदाधिकारीहरूको सहभागितामा यसबारे छलफल भएको हो।
पार्टीका प्रवक्ता प्रकाशशरण महतका अनुसार, बैठकमा सरकारमा काँग्रेसको प्रभावकारी उपस्थिति सुनिश्चित गर्नका लागि सुझावहरू प्रस्तुत गरिएका छन्। “मन्त्रीज्यूहरूले स्वाभाविक रूपमा आफ्नो योग्यता र क्षमतामा काम गरिरहनु भएको छ। तर, पार्टीको सरकारमा सशक्त उपस्थिति सुनिश्चित गर्नका लागि अधिक ध्यान दिनुपर्ने कुरा छलफलमा आएको छ,” महतले बैठकपछि जानकारी दिनुभयो।
उनले भने, “सरकारी संयन्त्रमा पार्टीगत विषयमा भन्दा पनि व्यवसायिकतामा बढी ध्यान दिनुपर्छ। मन्त्रीहरूले राम्रो काम गरिरहनु भएको छ, तर सुधारको ठाउँ सधैं रहन्छ।”
पार्टीको छलफल भोलि र पर्सी पनि जारी रहने जानकारी दिँदै प्रवक्ता महतले भने, “छलफलको दुई दिनपछि प्रधानमन्त्रीलाई पार्टीको तर्फबाट आवश्यक सुझाव दिइनेछ।”
यस बैठकबाट नेपाली काँग्रेसले सरकारसँगको सहकार्यलाई थप प्रभावकारी र सशक्त बनाउनका लागि नयाँ रणनीतिमा जोड दिने जनाएका छन्।