ताप्लेजुङ, ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनासँग सम्बन्धित विवाद समाधान गर्न नेपाल सरकार र स्थानीय पक्षबीच सहमति भएको छ। गृह मन्त्रालयबाट गठित वार्ता टोली र आन्दोलनरत समूहहरूबीच सोमबार सम्पन्न वार्तामा विभिन्न महत्वपूर्ण बुँदाहरूमा सहमति जुटेको हो।
सहमति अनुसार केबलकारको माथिल्लो स्टेशन निर्माण कार्य तत्कालका लागि स्थगित गरिएको छ। साथै, परियोजनासम्बन्धी विस्तृत छलफल आगामी माघ २७ गते हुने वार्तामा गरिनेछ।
यसैगरी, आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकार सहमत भएको छ। माघ १२ गतेको घटनाको छानबिन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइने पनि सहमति पत्रमा उल्लेख गरिएको छ।
वार्तामा आन्दोलनका क्रममा थुनामा परेका व्यक्तिहरूलाई बिना शर्त रिहा गर्ने प्रक्रिया तत्काल प्रारम्भ गर्ने निर्णय भएको छ। साथै, मुक्कुम्लुङ संरक्षण पक्षले जारी गरेको यातायात बन्द फिर्ता लिने सहमति जनाएको छ।
स्थानीय समूहहरूले केबलकार निर्माणमा असहमति जनाउँदै आएका थिए। वार्तामा तिनै विषयलाई उठाएर माघ २७ गते बिहान ११ बजे विस्तृत छलफल गर्ने सहमति भएको वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
वार्ता सहजीकरण समितिको तर्फबाट सरस्वती सिंगक (सरु) र सरकारी वार्ता टोलीका संयोजक भट्टराईले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
स्थानीय समुदाय र नेपाल सरकारबीच संवादमार्फत विवाद समाधान गर्न सहमति जुटेपछि केबलकार परियोजनाको भविष्यबारे आगामी वार्ताबाट टुंगो लाग्ने अपेक्षा गरिएको छ।