काठमाडौं – झन्डै पाँच महिनापछि सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। दिउँसो १ बजे बस्ने पहिलो बैठकमा विभिन्न विधेयक, अध्यादेश र संसदीय कार्यसूचीहरू प्रस्तुत गरिनेछ।
संसद् सचिवालयले यस अधिवेशनका सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ। प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हालै जारी अध्यादेशहरू पेश गर्ने सम्भावना छ।
यसैगरी, राष्ट्रिय सभामा मिडिया काउन्सिल विधेयक, २०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि छलफल हुने कार्यसूची रहेको छ। संसदीय परम्परा अनुसार, अधिवेशनको पहिलो दिन दलका नेताहरूले मन्तव्य राख्नेछन्।
‘विधेयक अधिवेशन’का रूपमा परिचित हिउँदे अधिवेशनमा विधायिकी प्रक्रियालाई तिव्रता दिने तयारी छ। हाल प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरी दुई दर्जन विधेयक विचाराधीन छन्, जसलाई छलफल गरी पारित गराउने लक्ष्य राखिएको छ।
संसदीय प्रक्रियालाई प्रभावकारी बनाउने र नीति निर्माणलाई मजबुत पार्ने उद्देश्यसहित सुरु हुन लागेको यो अधिवेशन राजनीतिक रूपमा पनि महत्वपूर्ण रहनेछ।