काठमाडौं- काठमाडौं म्याराथनको १६ औं संस्करण असोज १२ गते शनिबार हुने भएको छ ।
दौडमा १६ देशका ६६ जना अन्तर्राष्ट्रिय धावकसंगै ३ हजार भन्दा बढीको सहभागिता रहनेछ । हालसम्म म्याराथनमा सहभागी हुन १ सय ७० र हाफ म्याराथनका लागि ५ सय ५० ले नाम दर्ता गरेकाछन् । सरकारी र निजी गरेर ६० भन्दा बढी विद्यालयका छात्र छात्राले पाँच किलोमिटर र तीन किलोमिटर खुल्ला दौडमा सहभागिता जनाउने छन् । फेमिली रनमा १९ परिवारको सहभागिता रहने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
काठमाडौं म्याराथनका मुख्य आयोजक एन आर एस स्पोर्ट्स फाउन्डेसनका निलेन्द्रराज श्रेष्ठले म्याराथन सञ्चालनका लागी ट्राफिक व्यवस्थापन ठूलो चुनौती रहेको बताए । श्रेष्ठका अनुसार दौडको समयमा बाटोको एक भागलाई बन्द गरिनेछ भने धावक-धाविकाको पूर्ण सुरक्षा र दुर्घटनाको न्युनिकरणका लागि सबै प्रयास गरिनेछ ।
म्याराथन र हाफ म्याराथन दौडमा इलेक्ट्रिक टाइमिङ प्रयोग हुनेछ । यसले धावक धाविकालाई अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोटका लागि पनि सहयोग पुग्नेछ । दौडमा चार सय भन्दा बढी स्वंयसेवक तथा टेक्निकल अफिसियलको सहभागिता रहनेछ । त्यस्तै हाफ म्याराथनमा पहिलो पटक पेसर्सको पनि प्रयोग गरिनेछ । यसका लागि बंगलादेश र भारतबाट विज्ञहरू नेपाल आइपुगिसकेका छन् ।
म्याराथन दौड त्रिपुरेश्वरबाट विहान ५.१० बजे सुरु हुनेछ ।म्याराथनको दिन प्रयोग हुने रुटमा पाँच घण्टाका लागि सकेसम्म आफ्नो सवारी साधन प्रयोग नगरिदिन आयोजकले काठमाडौंबासीलाई अनुुरोध गरेको । म्याराथनको प्रमुख साझेदार र सहयोगी नेपाल एथलेटिक्स संघ, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी, योर फेस बाई इन ड्राइभ रहेकाछन्।
प्रमुख आयोजक श्रेष्ठले दौडका क्रममा सहभागी हुनेलाई प्रोत्साहन गर्न सबै काठमाडौंबासीलाई सडकमा निस्किएर हौसलना प्रदान गर्न पनि आह्वान गरेका छन् । उनले भने, ‘यो दौडको सफल आयोजनाका लागि सबैको सहयोग आवश्यक छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि हामीले सकारात्मक सन्देश पनि दिन सक्छौं ।’
काठमाडौंं म्याराथनको पहिलो संस्करण सन् २००७ मा भएको थियो ।