काठमाडौँ- विपक्षी पाँच दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एंव प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विभिन्न पाँच दलका नेताहरूले सोमबार साँझ वालुवाटार पुगी प्रधानमन्त्री के पी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन्।
प्रधानमन्त्री ओली समक्ष बुझाइएको ज्ञापनपत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन, राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका नेता डोल प्रसाद अर्याल र आमजनता पार्टीका अध्यक्ष प्रभु साहले हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापन पत्रमा नेकपा (एमाले) र नेपाली काँग्रेसले मिति २०८१ असार १७ गते मध्यराती सात बुँदे सम्झौता गरी केपी शर्मा ओलीको नेतृत्वमा गठन गरेको वर्तमान सरकारले राष्ट्रिय हित रक्षा, भ्रष्टाचार नियन्त्रण, सुशासन र विकास निर्माणको अभियानलाइ तीब्रता दिने विषय सार्वजनिक गरेको भएपनि सरकार आफ्नो प्रतिबद्धता अनुसार नचलेको उल्लेख छ ।
त्यस्तै ज्ञापनपत्रमा वर्तमान सरकार गठनको झण्डै सय दिन पुग्न लाग्दा पनि प्रतिबद्धता अनुसार काम नगरेको, सरकारको भनाइ र गराइमा तादात्म्यता देखिन छोडेको, सुशासन र प्रभावकारी सेवा प्रवाहका विषयमा सरकारले कुनै पनि कदम नचालेर सुशासनलाई कमजोर बनाएको, अदालतमा मुद्दा खेपिरहेका व्यापारीको पक्षमा स्वयं प्रधानमन्त्रीले नै पक्षपोषण गरेको र प्रधानमन्त्रीकै दलले करिब एक अर्ब भन्दा बढी मूल्यको जग्गा गैर कानुनी ढंगले दानका रुपमा लिएर सुशासनको उपहास गर्ने कार्य भएको समेत समेटिएको छ।
साथै, सरकारले लोकतन्त्रलाई दुई ठूला दलतन्त्रमा परिणत गर्ने र अन्य दलहरुलाई विभिन्न ढंगले कमजोर पार्ने कार्य गर्दै राजनीतिक सहिष्णुता प्रतिकूल व्यवहार प्रदर्शन गरेको विपक्षी दलहरुले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
गत शुक्रबार बसेको विपक्षी दलको बैठकले गरेको निर्णय अनुरुप प्रधानमन्त्री ज्ञापनपत्र बुझाएको हो ।