मंगलबार , असार १४, २०७९

मंगलबार , असार १४, २०७९

विद्युत् निर्यात बढ्दा पश्चिम नेपाल असन्तुष्ट

image

काठमाडौँ, जेठ २७ गते । बिहीबार रातिदेखि नेपालले भारतको खुला बजार ३६४ मेगावाट विद्युत् निर्यात गर्दैछ । यसरी निर्यात हुँदा वर्तमान मूल्य संरचना दैनिक १० करोड रुपियाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिन सक्छ ।

यसरी निर्यातको सामाचार पढ्दै गर्दा धेरै नेपाली खुसी हुन्छन् तर पश्चिम नेपालका मुख्य सहर र ग्रामीण इलाकाका बासिन्दा भने असन्तुष्ट छन् । त्यसको एउटै कारण हो आफूले पाएको गुणस्तरहीन बिजुली ।

दैनिक साढे सात करोड रुपियाँको विद्युत् निर्यात भएको समाचार आउँदा धनगढी निवासी चिरञ्जीवी आचार्यको प्रतिक्रिया छ, “कागलाई बेल पाक्यो हर्ष न विस्मात । ४५ डिग्री तापक्रममा १५० भोल्टको बिजुली आउँछ, गु्नासो ग-यो, सबस्टेसन बनेपछि समाधान हुन्छ भन्छन् ।” नेपालगञ्जकी प्रियङ्का साहको प्रतिक्रिया छ, “छिनछिनमा झ्याप्पझ्याप्प बिजुली जान्छ, यो तातोमा हामी निसासिनु कि मर्नु ?”

समस्या तराईको सहरी गर्मीको मात्र होइन, पहाडी ग्रामीण इलाकाले पनि उस्तै गुनासो गर्दैछ । प्युठान नगरपालिका–४ का स्थानीय शिशिर सुवेदी भन्नुहुन्छ, “बत्ती जाने त कति हो कति साँझ मैन बत्ती वा अन्य विकल्प तयार नगरी खाना खान बस्दैनाँै । लाइन आए पनि हाफ लोडको बिजुलीले फ्रिज, टीभी चल्दैनन् ।” विद्युत्को यस्तो गुणस्तर भोगिरहेका सुवेदी सरकारले प्रत्येक घरधुरीमा इन्डक्सन चुलो दिने कार्यक्रमलाई पनि गिज्याउनु हुन्छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्यातको आँकडासँगै विद्युत् आयातको पनि आँकडा राखेको हुन्छ । बुधबार मात्रै नेपालले भारतबाट दुई हजार ८६ मेगावाट घण्टा विद्युत् आयात गरेको देखिन्छ । “बढी भएर निर्यात भन्दै गर्दा आयात किन ?” यो प्रश्नमा नेपाल विद्युत् प्राधिकरण ग्राहक तथा वितरण सेवा निर्देशनालयका प्रमुख मनोज शिलवाल भन्नुहुन्छ, “पूर्वी नेपालको बिजुली पश्चिम पु-याउने प्रसारण लाइन नभएर पश्चिम नेपाललाई पर्याप्त बिजुली दिन सकिरहेका छैनौँ । भारतबाट आयातित र चमेलियाको बिजुलीले मात्र पश्चिम नेपालको विद्युत् व्यवस्थापन गर्न समस्या भएको छ ।”

टनकपुरबाट प्राधिकरणले अहिले करिब ७० मेगावाट विद्युत् आपूर्ति गर्ने गरेको छ भने ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाले २० मेगावाट मात्र आपूर्ति दिइरहेको छ । नानपाराबाट १० मेगावाट जतिविद्युत् आयात पनि हुन्छ । १३२ केभी प्रसारण लाइनमार्फत बुटवल हुँदै काली गण्डकीको बिजुली कोहलपुरसम्म पु-याइएको छ । कम क्षमताको प्रसारण लाइन लामो दूरी भएका कारण त्यो पनि गुणस्तरीय नभएको हो । पश्चिम नेपालमा वर्षा अझै नभएकाले जलप्रवाह पनि नबढ्ने र गर्मी उच्च हुँदा विद्युत् माग उच्च भएकाले पनि आपूर्ति व्यवस्थापनमा प्राधिकरण कमजोर बनेको सिलवाल स्वीकार गर्नुहुन्छ ।

प्राधिकरणलाई बिजुली नभएर होइन प्रसारण लाइन नभएर पश्चिम नेपालको आपूर्ति व्यवस्था सहज बनाउन नसकेको हो । करिब १२ वर्ष पहिलेदेखि निर्माण थालिएको भरतपुर बर्दघाट २२० केभी प्रसारण लाइन दाउन्नेमा दुईवटा टावर खडा गर्ने काम रोकिँदा अवरुद्ध छ । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण दुई वर्षदेखि बन्न पाएका छैन ।

बर्दघाट सबस्टेसनमार्फत यो प्रसारण लाइनमा पश्चिमतर्फ जाने १३२ केभी प्रसारण लाइनमा पर्याप्त बिजुली दिने हो भने बुटवलदेखि पश्चिम लुम्बिनी प्रदेशभर पर्याप्त र गुणस्तरीय बिजुली दिन सकिन्थ्यो । चमेलिया र आयातित बिजुली सुदूरपश्चिम प्रदेशमा वितरण गर्दा पर्याप्त गुणस्तरीयसमेत बन्ने आकलन प्राधिकरणको रहँदै आएको छ ।

स्थानीय वितरण प्रणाली कमजोर भएकाले पनि पश्चिम नेपालमा बिजुली सकस बढेको हो । प्युठानमा एक दशकदेखि चर्चा रहँदै आएको दम्ती सबस्टेसन निर्माण ठेकेदारको लापरबाहीले सम्पन्न नहुँदा प्युठान मात्र होइन रोल्पा र अर्घाखाँचीसम्मको आपूर्ति कमजोर बनेको छ । दाङमा पनि ठूलो सिमेन्ट उद्योग खुल्ने तर विद्युत् आपूर्ति पर्याप्त नहुँदा सकस परेको छ । नेपालगञ्जको गुलरिया क्षेत्रमा वितरण लाइन सुधारको कामले पूर्णता पाएको छैन ।

पश्चिम नेपालको विद्युत् समस्या समाधानका लागि सक्दो पहल गरिरहेको सिलवाल बताउनु हुन्छ । उहाँले भन्नुभयो, “हामीले सर्वसाधारणको हितलाई ध्यानमा राखेर ठूला उद्योगलाई राति मात्र पूर्ण क्षमतामा चल्न भनेका छौँ । देशभित्रै जनतालाई नदिएर बिजुली बेचेको होइन ।’’ गोरखापत्र

सम्बन्धित समाचार