शनिबार , माघ ५, २०८१

शनिबार , माघ ५, २०८१

सरकार द्वारा बाढीपहिरो प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा 

image

फोटो : फाइल फोटो

काठमाडौँ- सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दिएको जानकारी अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरो प्रभावित स्थानीय तहलाई महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

“बाढीपहिरो प्रभावित क्षेत्रमा अहिले पनि उद्धार तथा राहत वितरणको काम जारी छ, प्रभावित क्षेत्रमा विशेष योजनाका साथ पुनःस्थापना र पुनःनिर्माण गर्ने कार्यमा लाग्न विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो,” उनले भने ।

प्रवक्ता गुरुङका अनुसार कोसी प्रदेशमा पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका, ओखलढुंगाको चम्पादेवी गाउँपालिका र सुनकोसी गाउँपालिका, उदयपुरको वेलका नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

साथै, वाग्मती प्रदेशमा धादिङको बेनिघाट रोराङ गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, धुनिवेसी नगरपालिका र गजुरी गाउँपालिका, दोलखाको गौरीशंकर गाउँपालिका, बिगु गाउँपालिका, शैलुङ गाउँपालिका, रामेछापको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, दोरम्भा शैलुङ गाउँपालिका, सुनापति गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकालाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

त्यस्तै विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका अन्य स्थानीय तहमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका, ललितपुरको वाग्मती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र गोदाबरी नगरपालिका, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, चौरीदेउराली गाउँपालिका र महाभारत गाउँपालिका रहेका छन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र फिक्कल गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, बकैया गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकालाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

उल्लेखित स्थानीय तहमा पर्ने राजमार्गमा क्षति भएको, सडकसञ्जाल विच्छेद भएको, नदीको तटीय क्षेत्र डुबानमा परेको, पुल बगाएको, विद्युत् र टेलिफोनको टावर तथा पशुचौपाया र कृषि क्षेत्रमा क्षति पुगेकाले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको प्रवक्ता गुरुङले जनाए ।

सम्बन्धित समाचार