मंगलबार , मंग्सिर २५, २०८१

मंगलबार , मंग्सिर २५, २०८१

सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ

image

काठमाडौँ- पोखराको सुर्यदर्सशन सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाछन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले पार्टी कार्यालय वनस्थलीबाटै सभापति लामिछानेलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, कास्कीले लामिछानेलाई पक्राउ गरेर पठाइदिन अनुरोध गरेपछि सीआईबीबाट खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो।

गोरखा मिडिया नेटवर्क प्रालिमा सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम दुरुपयोग गरेको आरोप लागेका रास्वपा सभापति लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीबारे अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले शुक्रबार पक्राउ नै पुर्जी जारी गरेको थियो।

सूर्यदर्शन सहकारीमा अपचलन भएको एक अर्ब ३५ करोडको अनुसन्धान गर्नका लागि जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले गितेन्द्रबाबु (जिबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको जेठ १५ गते एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित  संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो। सोही अभियोगमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक छविलाल जोशी असोज ६ गते पक्राउपरी हाल कास्की प्रहरीको हिरासतमा छन्।

शुक्रबार नै जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वापा सभापति रवि लामिछाने सहित १४ जान विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अन्य पक्राउपूर्जी जारी भएकाहरुमा विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ छन्। उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजिम पक्राउ पुर्जी जारी भएको हो।

पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गरेपछि पक्राउ गरिएका लामिछानेलाई शुक्रबार नै स्थलमार्ग हुँदै पोखरा लगिएको छ।

सम्बन्धित समाचार