शुक्रबार , बैसाख ७, २०८१

शुक्रबार , बैसाख ७, २०८१

आईसीसी विश्वकप लिग–२ : ओमानविरुद्ध नेपालको सानदार जित

image

ओमानले दिएको एक सय ६४ रनको विजय लक्ष्य नेपालले ३३.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेल्नुभयो । आसिफले ६२ र कुशलले ५६ रन बनाउनुभयो । दुवैको यो एकदीवसीय करियरको तेस्रो अर्धशतक हो । आसिफले लगातार दोस्रो अर्धशतक प्रहार गर्नुभएको हो ।

पहिलो विकेटका लागि आसिफ र कुशलले २३.५ ओभरमा एक सय १४ रनको शतकीय साझेदारी समेत गर्नुभएको छ । यो एकदीवसीयमा नेपालका लागि ओपनरबाट पहिलो शतकीय साझेदारी पनि हो । यस्तै रोहित पौडेलले अविजित २६ र देव खनालले १० रन बनाउनुभयो । दिपेन्द्र सिंह ऐरीले अविजित ६ रन जोड्नुभयो । बलिङमा ओमानका फैज बटले दुई तथा खवर अलीले एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६.५ ओभरमा सवै विकेटको क्षतिमा एक सय ६३ रन बनाएको थियो। ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ५२ रन बनाउनुभयो । सन्दीप गौडले ४७, जतिन्दर सिंहले २३ र नसिम खुसीले १० रन जोड्नु भयो ।

ओमानलाई सस्तैमा समेट्न नेपालका करण केसीले पाँच विकेट लिनुभयो । कप्तान सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट झार्नुभयो । जितसँगै पाँचौं स्थानमा उक्लिएको नेपालले १५ खेलबाट १५ नै अंक बनाएको छ । लिगमा सबै ३६ खेल सकेको ओमान ४४ अंक सहित शीर्षस्थानमा यथावत छ ।

सिरिजको अन्तिम खेलमा नेपालले आजै (बुधबार) राति अमेरिकाविरुद्ध खेल्नेछ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी आईसीसी विश्वकप लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् । गोरखापत्र

सम्बन्धित समाचार