मंगलबार , बैसाख ४, २०८१

मंगलबार , बैसाख ४, २०८१

विदेशी मुद्राको सञ्चिति बढ्यो

image

काठमाडौं- लामो समयदेखि घट्दो क्रममा रहेको वैदेशिक मुद्राको सञ्चिति क्रमशः बढ्न थालेको छ । सरकारले केही वस्तुको आयातमा गरेको कडाइ गरेसँगै वैदेशिक मुद्राको सञ्चितिमा सुधार भएको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विदेशी विनिमय सञ्चिति रु १२ खर्ब ४६ अर्ब २२ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको तेस्रो महिनासम्मको विवरणअनुसार कुल विदेशी विनिमय सञ्चिति दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको हो ।

यो वृद्धिसँगै मुलुकको वस्तु आयात गर्न सक्ने क्षमतामा समेत सुधार भएको छ । केन्द्रीय बैंकका अनुसार बाह््य क्षेत्रमा केही सुधार भएको पाइएको हो । अघिल्लो आवको अन्त्यमा विदेशी मुद्राको सञ्चिति रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर थियो ।

अमेरिकी डलरमा भने विनिमय सञ्चिति शुन्य दशमलव छ प्रतिशतले घटेर नौ अर्ब ४८ करोड कायम भएको छ । अघिल्लो वर्षको अन्यमा यस्तो सञ्चिति नौ अर्ब ५४ करोड थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत असोज मसान्तमा चार दशमलव तीन प्रतिशतले वृद्धि भई रु ११ खर्ब एक अर्ब ६० करोड पुगेको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा असोज मसान्तमा नौ दशमलव तीन प्रतिशतले कमी आई रु एक खर्ब ४४ अर्ब ६२ करोड रहेको छ ।

चालु आवको पहिलो तीन महिनाकोे कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख छ । विसं २०७८ साउनमा रु १३ खर्ब ५४ अर्ब ८२ करोड बराबर रहेको विदेशी मुद्राको सञ्चिति लगातार ओरालो लागेर गत वैशाखमा रु ११ खर्ब ४६ अर्ब ८८ करोडमा झरेको थियो ।

केन्द्रीय बैंकका अनुसार, अहिले विदेशी मुद्राको सञ्चिति एक महिनामै रु ५७ अर्बले बढेर १२ खर्ब ४६ अर्ब २२ करोड बराबर पुगेको छ । यो रकमले नौ दशमलब छ महिनाको वस्तु र आठ दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विवरणमा उल्लेख छ ।

शोधन्तर स्थितिमा सुधार

विदेशमा रोजगारीमा गएका नेपालीले पठाएको विप्रेषण तथा आयातमा गरिएको कडाइका कारण शोधन्तर स्थितिमा सुधार आएको छ । देशबाट बाहिरिनेभन्दा भित्रिने रकममा वृद्धि भएसँगै सरकारले राहतको श्वास फेर्न पाएको छ ।

चालु आवको तीन महिनामा शोधनान्तर स्थिति रु १२ अर्ब ४३ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ८७ अर्ब ७१ करोडले घाटामा रहेको थियो । सरकारले लिएको नीतिका कारण महत्वपूर्ण सुधार भएको केन्द्रीय बैंकको विवरणमा उल्लेख छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको असोज मसान्तसम्ममा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९ करोड १८ लाखले बचतमा छ ।

समीक्षा अवधिमा चालु खाता रु ३४ अर्ब २८ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ४९ अर्ब ८१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २७ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३४ दशमलव आठ प्रतिशतले वृद्धि भई रु दुई अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु आठ करोड प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु एक अर्ब ९२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु पाँच अर्ब सात करोड रहेको थियो ।

तीन महिनामा दुई खर्ब ८१ अर्ब विप्रेपण भित्रियो
गतवर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा विप्रेपण आप्रवाहमा १७ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा दुई खर्ब ८१ अर्ब पाँच करोड विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको छ । अमेरिकी डलरमा आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई रु दुई अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागिअन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या १२३.१ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा एक लाख ४७ हजार नौ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ५७ हजार आठ सय ६१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २१९.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई रु तीन खर्ब १० अर्ब ४० करोड प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो । NTV

सम्बन्धित समाचार