शनिबार , बैसाख ८, २०८१

शनिबार , बैसाख ८, २०८१

चुनौतीमा पूर्वप्रधानमन्त्री खनाल

image

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारूढ गठबन्धन दलका तर्फबाट इलाम निर्वाचन क्षेत्र नम्बर १ का प्रत्याशी हुनुहुन्छ । उहाँसँगै नेकपा (एमाले)बाट महेश बस्नेत प्रतिस्पर्धामा रहनुभएको छ ।

उहाँ इलामबाट सातौँ पटक चुनाव लड्दै हुनुहुन्छ । छ पटक विजयी भइसक्नुभएका खनाल एकपटक कांग्रेसका उम्मेद्वार बेनुपराज प्रसाईंसँग पराजित हुनुभएको थियो । विसं २०४८ पछिका छ मध्ये पाँचवटा चुनाव जित्नुभएका उहाँ छैटौँ जितको प्रतीक्षामा हुनुहुन्छ ।

विसं २०४८ को आमनिर्वाचन विजयी बन्दै संसद् भवन छिर्ने अवसर पाउनुभएका नेता खनाल त्यसयता २०५१ को मध्यावधि निर्वाचन, २०६४ सालको पहिलो संविधानसभा निर्वाचन, २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी हुनुभएको थियो । उहाँ २०५६ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मा पराजित हुनुभएको थियो ।

विसं २०७४ को चुनावमा नेपाली कांग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभएका खनाललाई यस पटक तिनै उम्मेद्वारसहित दलको साथ रहेको छ । पूर्व सहकर्मी तथा हाल एमाले जिल्ला अध्यक्ष बस्नेतसँगको भीडन्त खनालका लागि उति सहज भने पक्कै छैन । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलको साथ खनाललाई छ ।

नेता खनालले यो आफ्नो अन्तिम प्रतिस्पर्धा भएको बताइसक्नुभएको छ । इलाममा जन्मिनुभएका उहाँ २०४६ को जनआन्दोलनपछिको अन्तरिम सरकारमा वन तथा वातावरणमन्त्री हुनुभयो । विसं २०५३ मा सूचना तथा सञ्चारमन्त्री बन्नुभएका उहाँ २०६७ माघ २० गते प्रधानमन्त्री बन्नुभयो ।

गत स्थानीय निर्वाचनमा इलाम–१ मा वडाअध्यक्षले पाएको दलगत रूपमा प्राप्त मत हेर्दा एमालेले २६ हजार दुई सय ३३ मत पाएको छ । नेपाली कांग्रेसले २५ हजार सात सय मत पाएको थियो ।

त्यस्तै एकीकृत समाजवादीका वडाअध्यक्षका उम्मेदवारले नौ हजार चार सय ८१, जनता समाजवादी पार्टीले एक हजार आठ सय २९, नेकपा (माओवादी केन्द्र)ले एक हजार दुई सय ३५ र राप्रपाले एक हजार एक सय ६९ मत पाएका छन् । एन.टि.भि

सम्बन्धित समाचार