बिहिबार , बैसाख १३, २०८१

बिहिबार , बैसाख १३, २०८१

तेक्वान्दोमा तीन विभागीय टिमले दुई–दुई स्वर्ण पदक थपे

image

विभागीय टिम नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल आर्मीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तेक्वान्दोमा सोमबार भएको खेलबाट दुई–दुई स्वर्ण पदक थपेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बेनीको कालीपुल कभर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन सोमबारसम्म १६ इभेन्ट्स सकिँदा नेपाल पुलिसले आठ स्वर्ण पदक जितेको छ । हालसम्म आर्मीले पाँच, एपिएफले दुई र मधेस प्रदेशले एक स्वर्ण पदक जितेका राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक हीरा थापाले जानकारी दिनुभयो ।

पुलिसले तीन, आर्मीले छ, एपिएफले दुई, लुम्बिनीले दुई, सुदूरपश्चिम, मधेस प्रदेश र एनआरएनले एक–एकवटा रजत पदक जितेका छन् । गण्डकी र प्रदेश नं १ ले सात–सात, एपिएफले छ, मधेस र बागमतीले तीन–तीन, लुम्बीनी र आर्मीले दुई–दुई, पुलिस र कर्णालीले एक–एक कास्य पदक जितेका प्रशिक्षक थापाले जानकारी दिनुभयो ।

सोमबार राति १०ः३० मा सकिएको फाइनल खेलअन्तर्गत महिला ४६ केजीतर्फ आर्मीकी काजल श्रेष्ठ, महिला ६७ केजीमा पुलिसकी इन्दिरा बस्नेत, महिला ७३ केजीमा आर्मीकी नम्रता तुलाधर, पुरुष ८७ केजीभन्दा बढीको तौल समूहमा एपिएफका भीमबहादुर खड्का, महिला ७३ केजीभन्दा बढीको तौल समूहमा एपिएफका सुस्मिता गुरुङ, पुरुष ८० केजीमा पुलिसका अभिषेक बरालले स्वर्ण पदक दिलाएका छन् ।

महिला ४६ केजीमा सुदूरपश्चिमका झरना नाथले रजत, एपिएफका वर्षा थापा र बागमतीका रोशनी श्रेष्ठले कास्य, महिला ६७ केजीमा आर्मीकी ग्यानी चुदाँराले रजत, प्रदेश नं १ की सविना माझी र एपिएफकी सोरन गुरुङले कास्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले रजत, लुम्बिनीका सुष्टि सुर्तुङ्गा मगर र एपिएफकी रेजिना पार्कीले कास्य पदक जितेका छन् ।

पुरुष ८७ केजीभन्दा बढीको तौल समूहमा पुलिसका आसुतोष बरालले रजत, गण्डकीका नीरजबहादुर नेपाली र मधेसका विकास तामाङले कास्य, महिला ७३ केजीभन्दा बढीको तौल समूहमा आर्मीका प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी र मधेसका प्रवली बस्नेतले कास्य र पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, एपिएफका जनकबहादुर जोशी र मधेसका पवनकुमार श्रेष्ठले कास्य पदक जितेका छन् ।

बाइस इभेन्टका खेल हुने प्रतियोगिता यही कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । आठवटा इभेन्ट्सको खेल सञ्चालन गर्न बाँकी छ । सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का तीन सय ३० खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका तेक्वान्दो खेल प्रशिक्षक कर्ण प्रधानले बताउनुभयो । स्वर्ण र कास्य २२–२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार