बुधबार , बैसाख १२, २०८१

बुधबार , बैसाख १२, २०८१

नेपाल यू–१९ विश्वकपमा छनोट

image

काठमाडौं- निर्णायक खेलमा यूएईमाथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपाल सन् २०२४ मा श्रीलंकामा आयोजना हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।

युएईस्थित इडेन गार्डेन ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले आयोजक राष्ट्र यूएईलाई अन्तिम खेलमा नेपालले रोमाञ्चक जित निकाल्दै दोस्रो पटक विश्वकपमा स्थान बनाएको हो । यसअघि नेपालले सन् २०१६ को विश्वकप खेलेको थियो ।

जितका लागि नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सवै विकेटको क्षतिमा एक सय ८४ रनमा समेटिएको थियो । युएईका लागि इथान काल्लले सर्वाधिक ५० रन बनाएका थिए ।

आर्यान सक्सेनाले ३४, आर्याश शर्माले ३२ र अम्मर बदामीले १९ रन बनाए । बलिङमा नेपालका दीपेश कँडेलले पाँच विकेट र सुवास भण्डारी र हेमन्त धामीले दुई दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९१ रन बनाएको थियो । नेपालका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेले । उनले ५१ रन बनाए ।

विशाल विक्रम केसीले ३८, उत्तम थापामगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ र मिलन बोहराले १० रन बनाए भने अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङमा युएईका ध्रुव परासरले तीन, कप्तान आयन खान र हरितहर्ष सिट्ठीले दुई दुई तथा हर्षित सेठ र अम्मर बदामीले एक एक विकेट लिए ।

यस छनोट खेलमा आयोजक युएईसहित नेपाल, हङकङ, कुवेत, मलेसिया र सिंगापुर सहभागी थिए । नेपाल सबै खेलमा अपराजित रहँदै छनोट खेलको च्याम्पियन बनेको छ ।

सम्बन्धित समाचार