आइतबार , बैसाख २३, २०८१

आइतबार , बैसाख २३, २०८१

मिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको विधेयक आज संसद्‌मा पेस गर्ने तयारी

image

काठमाडौं- मिटरब्याज पीडितलाई न्याय दिनका लागि कानुनी व्यवस्था गर्न सरकारले ल्याएको विधेयक संसद्‌मा अघि बढ्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकलाई अगाडि बढाउने सम्भावित कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नपेाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८०’लाई पेस गर्ने, दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले विधेयक विचाराधीन रहेकाले सम्भावित कार्यसूचीमा राखिएको जानकारी दिनुभयो । राष्ट्रियसभाबाट असार १५ मा पारित मिटरब्याजसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेर प्रतिनिधिसभामै रहेको छ ।

संविधानअनुसार अध्यादेश निष्क्रिय भएपनि विधेयक यथावत् रहेको भन्दै प्रतिनिधिसभाको बैठकमा यो विधेयक पारित गर्न कार्यसूचीमा राखिएको हो । सो विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित गर्ने प्रयास भएको थियो ।

तर प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले गरेको अवरोधले संसद् बैठकको कारबाही अघि बढ्न नसकेपछि विधेयक पास हुन सकेको थिएन । सरकारले अध्यादेश ल्याएर मिटरब्याजपीडितलाई न्याय दिनका लागि कानुनी व्यवस्था गरेको थियो ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । सत्ता गठबन्धनको हिजो बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार १८ मा दिएको अभिव्यक्तिबारे संसदमा प्रष्ट पार्ने निर्णय गरेको थियो । एन.टि.भी.

सम्बन्धित समाचार