कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफ्नो मन्त्रालयले पछिल्लो पाँच वर्षमा कुल रु १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह गरेको जानकारी दिएका छन्। उनले आज एक पत्रकार सम्मेलनमा यस अनुदानको उपयोग र निगरानीका बारेमा पनि महत्वपूर्ण टिप्पणी गरेका छन्।
मन्त्री अधिकारीका अनुसार, आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कृषि सहकारी, कृषि समूह र कृषि फार्महरूलाई अनुदान दिइएको छ। कुल अनुदानमा रु २० अर्ब ३० करोड ३० लाख १४ हजार कृषि सहकारी समूहलाई प्रत्यक्ष रूपमा वितरण गरिएको छ। साथै, रासायनिक मलको लागि अप्रत्यक्ष रूपमा रु ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार अनुदान दिइएको छ।
उनले अनुदानको दुरुपयोग भएमा कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता पनि जनाएका छन्। मन्त्री अधिकारीले आमनागरिक र सञ्चारमाध्यमलाई अनुदानको सही प्रयोगका बारेमा जानकारी लिन र निगरानी गर्न आग्रह गरेका छन्। यसका लागि मन्त्रालयले समिति गठन गरेर अनुदानको प्रयोगको अवस्थाको अध्ययन गर्न थालेको पनि उनले बताए।
उनले लोकतान्त्रिक शासन व्यवस्थाको महत्त्वमा जोड दिँदै पारदर्शिता सुनिश्चित गर्न प्रदेश र स्थानीय सरकारलाई पनि कृषि अनुदान लिने सङ्घ, संस्थाहरू र व्यक्तिहरूको नाम सार्वजनिक गर्न अपिल गरेका छन्।
कार्यक्रममा कृषि विकास सचिव डा. गोविन्दप्रसाद शर्मा र अन्य सहसचिवहरूले पनि अनुदानको दुरुपयोग भएमा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।