बुधबार , फागुण २०, २०८२

बुधबार , फागुण २०, २०८२

घटस्थापना सँगै २०८१ को दशैँ पर्व सुरु

image

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरूको महान् चाड दशैं बिहीबारदेखि सुरू भएको छ। घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना पश्चात घटस्थापना गरिएकोछ ।

दैनिक नृत्य कर्म पछि नजिकैको नदी वा चोखो ठाँउबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक जमरा राख्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन सम्म यो पर्व मनाइन्छ।

आजैदेखि दसैं घरमा शक्तिकी देवी दुर्गाको पूजा आराधना आरम्भ हुन्छ। जौ रोपण गरी दुर्गा भवानीलाई चढाएर विजया दशमीको दिन टीका प्रसाद सँगै जमरा ग्रहण गरिन्छ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ ।

विधिपूर्वक घडा स्थापना गरी त्यसैमा शक्तिकी देवी दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा भवानीको प्रसाद ग्रहण गरिन्छ । आज घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको थियो ।

नवरात्रभर दुर्गा भवानीको तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना हुन्छ ।

दुर्गा भवानीले आसुरी प्रवृत्तिको अन्त्य गर्न लिएका नौ वटा रुपको दुर्गा पक्षमा विशेष पूजा आराधना हुन्छ ।

नवरात्रिको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । दुर्गाका नौवटा रुपलाई नवदुर्गा भनिन्छ । दुर्गाभवानीले आसुरी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजा आराधना गर्ने शास्त्रीय परम्परा रहेको छ।

दसैं पर्वलाई असत्यमाथि सत्य अर्थात् आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ।

सम्बन्धित समाचार