काठमाडौं, साउन १ यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (Electronic Driving License) लिन तथा नवीकरण गर्न अबदेखि अनलाइनमार्फत सेवा उपलब्ध गराउने भएको छ। विभागले जारी गरेको सूचनाअनुसार २०८३ साउन १ गतेदेखि आवेदनदेखि राजस्व भुक्तानीसम्मको प्रक्रिया अनलाइनबाटै गर्न सकिने व्यवस्था लागू गरिएको हो।
विभागका अनुसार सेवाग्राहीले National ID वा Nagarik App मा रहेको QR Scanner प्रयोग गरी QR कोड स्क्यान गरेर आफ्नो व्यक्तिगत विवरण स्वतः (Autofill) भर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ। यसले आवेदन प्रक्रिया थप सहज, छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ। अन्य अवस्थाका सेवाग्राहीका लागि भने हालसम्मकै प्रक्रिया कायम रहने विभागले जनाएको छ।
सेवा सञ्चालनसँग सम्बन्धित कुनै समस्या, गुनासो वा सुझाव भएमा विभागको [email protected] इमेलमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ। साथै, सातै प्रदेशका यातायात कार्यालयका इमेल ठेगाना र सम्पर्क नम्बर समेत सार्वजनिक गरिएको छ, जसबाट सेवाग्राहीले आवश्यक जानकारी लिन सक्नेछन्।
त्यसैगरी, विभागले प्रदेशअनुसार विद्युतीय चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न सकिने छुट्टाछुट्टै वेबसाइट पनि सार्वजनिक गरेको छ। सेवाग्राहीले आफ्नो सम्बन्धित प्रदेशको वेबसाइटमार्फत आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन्।
विभागले यो प्रणाली लागू भएसँगै सेवाग्राहीलाई कार्यालयमा हुने अनावश्यक भीड कम हुने, समयको बचत हुने तथा सेवा प्रवाहलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरेको छ। विभागले सबै सेवाग्राहीलाई आफ्नो प्रदेशको आधिकारिक वेबसाइटमार्फत मात्र आवेदन दिन आग्रह गरेको छ।