फोटो : आइपियू/एन्टोइनी टार्डी
काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका संघ (आइपीयू) को १४९ औँ महासभालाई सम्बोधन गरेका छन् । आइपीयूमा १८० देश सदस्य छन् ।
स्वीट्जरल्याण्डको जेनेभा जारी महासभालाई नेपालीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्तिपूर्ण र दिगो भविष्यको लागि अन्तर व्यवस्थापिका बीच सहकार्य बढाउँदै अघि बढ्नका लागि आग्रह गरेकाछन् ।
आगामी दिनमा शान्ति, लोकतन्त्र, मानव अधिकार, दिगो विकास र अन्तर्राष्ट्रिय सुरक्षा जस्ता समसामयिक विषयहरूमा अन्तर व्यवस्थापिका संघले प्रभावकारी भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको बताए ।
जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, भूराजनीतिक तनाव, गरिबी, असमानता लगायतका प्रमुख चुनौतीहरू सामना गर्न अन्तर्राष्ट्रिय स्तरमा विचारविमर्श र योगदान गर्न अन्तर व्यवस्थापिका संघ एउटा महत्वपूर्ण मञ्चको रुपमा रहँदै आएको समेत स्मरण गरे ।
सर्वोच्च शिखर सगरमाथा लगायत विश्वका हिमाल र अन्य क्षेत्रमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव परेको बताउँदै समग्र जलवायु न्यायलाई ध्यानदिई विकसित देशहरूले विकासोन्मुख देशहरूलाई प्रविधिगत, पूँजीगत तथा क्षमता वृद्धि सम्बन्धी सहयोग उपलब्ध गराउन प्रभावकारी भूमिका खेल्नुपर्ने कुरामा जोड दिए ।
दाहालले भनेका छन्, ‘जलवायु परिवर्तनका कारण उत्पन्न हुने क्षतिलाई न्यूनीकरण गर्न नेपाललाई पर्याप्त वित्तीय स्रोत र प्रविधि उपलब्ध गराउन हामी अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गर्दछौं ।’
सम्बोधनको क्रममा दाहालले सूचना प्रविधिको क्षमता विकास र पहुँचमा देशभित्रै र देशहरुबीच ठूलो अन्तर रहेको भन्दै ‘अझै पनि साढे दुई अरब भन्दा बढी मानिस सूचना प्रविधिमा पहुँच छैनन्। तसर्थ, हामी सबै एकजुट भई चुनौतीहरुको सामना गर्न र विज्ञान, प्रविधि र नवप्रवर्तनका उपलब्धिहरुमा सबैको समान पहुँच सुनिश्चित गर्न आवश्यक छ ।’
विज्ञान प्रविधिको विकास र प्रयोगलाई मानव समाजको हितमा सदुपयोग गर्नुपर्ने तथा यसबाट सिर्जना हुन सक्ने गोपनीयता भङ्ग, साइबर सुरक्षा, नकारात्मक सामग्रीको प्रसार जस्ता जोखिम र चुनौतीहरुलाई सामना गर्न कानून निर्माण तथा सरकारका कामहरूको अनुगमन गर्ने संवैधानिक जिम्मेवारीमा रहेका विश्वका व्यवस्थापिकाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न जोड दिनु पर्ने समेत बताए ।
करिब तीन करोड जनसंख्या भएको नेपाल जैविक, भौगोलिक र जातीय विविधतायुक्त समाज भएको उल्लेख गर्दै दाहालले संविधानले देशको विविधतालाई प्रतिविम्बित गर्दै महिला, अल्पसंख्यक र सीमान्तकृत समुदायको प्रतिनिधित्वको सुनिश्चितता गर्न समावेशी र समानुपातिक प्रणालीलाई संस्थागत गरेको पनि बताए ।
नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायलाई पूर्णता दिन संसद्को दुवै सदनबाट बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी कानून पारित भएको बताए ।
नेपालले सँधै संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्त तथा विश्व शान्तिका मूल्यमान्यताहरूमा आधारित भई ‘‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’’ भन्ने परराष्ट्र नीति अँगालेको समेत बताए ।
सन् २०२६ मा अतिकम विकसित मुलुकहरुको समूहबाट स्तरोन्नति हुने तयारी गरिरहेको नेपालको लागि क्षमता अभिवृद्धि गर्न थप अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेकोमा पनि अध्यक्ष दाहालले जोड दिए ।
फोटो: आइपियू/एन्टोइनी टार्डी
स्वीट्जरल्यान्डको जेनेभामा जारी आइपीयूको १४९ औं महासभामा अध्यक्ष दाहालको नेतृत्वमा प्रतिनिधि सभा सदस्यहरू सुनिता बराल र निशा डाँगी तथा राष्ट्रिय सभा सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल समेतको सहभागीता रहेको छ। त्यसैगरि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय र सहसचिव सीता वाग्ले काफ्ले, अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा र निजी सचिव उपसचिव नमराज नगरकोटी पनि प्रतिनिधिमण्डलमा रहेकाछन्।
महासभाको क्रममा अध्यक्ष दाहालले सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर-व्यवस्थापिका संघ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। नेपाली प्रतिनिधिमण्डल कार्तिक ३ गते स्वदेश फर्किनेछ।