शुक्रबार , फागुण २९, २०८२

शुक्रबार , फागुण २९, २०८२

दललाई फुटाउने वा मिलाउने काम हुन्न:प्रधानमन्त्री केपी शर्मा ओली

image

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि आफूले कुनै दललाई फुटाउने वा मिलाउने काम नगरेको स्पष्ट गर्नुभएको छ। आज नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागिएको भन्ने समाचारको खण्डन गर्दै यस्तो झुठ र नकारात्मकता फैलाइएकोमा चिन्ता व्यक्त गर्नुभयो।

प्रधानमन्त्री ओलीले भने, “कुनै दल मिल्ने र फुट्ने कुरा ती दलका आन्तरिक विषय हुन्, र म त्यसको पक्षमा छैन।” उहाँले यसअघि, आफू प्रधानमन्त्री हुँदा दल विभाजनको विधिका लागि संविधानको ४० प्रतिशतको प्रबन्ध बारे एक अध्यादेश ल्याएको भए पनि त्यसको विरोध भएपछि त्यो फिर्ता लिइएको बताए। उहाँले थपे, “विरोध गर्नेहरूले नै पछि २० प्रतिशत सांसदको व्यवस्था गरेर दल विभाजनको कानुनी प्रबन्ध गरेको हो।”

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गरेको भनिएको वक्तव्य झुठो भएको उल्लेख गर्दै त्यसका कारणले जनताका सूचनाको हकमा असर पर्ने र लोकतन्त्रको दुरुपयोग हुने अवस्था आउनसक्ने उल्लेख गर्नुभयो। उहाँले यस्तो परिस्थितीलाई रोक्न पत्रकार महासंघले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो।

प्रधानमन्त्री ओलीले भने, “हामी १०-५ को जागिर खान आएका छैनौं। देश र जनताको लागि दिनरात काम गर्दै काम गर्छौं।” उहाँले सरकारको नीति र कार्यसञ्चालनमा पारदर्शिता राख्ने प्रतिबद्धता व्यक्त गर्दै यस्तो झुठो सूचना फैलाउनाले लोकतन्त्रको हानि गर्ने कुरा उल्लेख गर्नुभयो।

यस अवसरमा, महासंघका अध्यक्ष निर्मला शर्माले पनि महासंघको निर्वाचन ढिलाइ भएको भए पनि महिला अध्यक्षको रूपमा इतिहास रचिएको बताउँदै यसमा राजनीतिक दल र पत्रकारिता सङ्गठनको सहयोग भएको जानकारी दिइन्। महासचिव रामप्रसाद दाहालले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।

सम्बन्धित समाचार