जनकपुर —प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशसभामा सम्बोधन गर्दै समृद्धि, सुशासन र जनमुखी सेवा प्रदान गर्न सबै पक्षबीचको साझा प्रयास आवश्यक रहेको बताएका छन्।
गरिबी निवारण सबै अधिकारहरूको आधार भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विकास र समृद्धिको यात्रामा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। “संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो मात्र राजनीतिक उपलब्धि होइन, जनताको संघर्षबाट प्राप्त उपलब्धि हो,” उहाँले भन्नुभयो, “हामीले लोकतान्त्रिक मूल्यलाई जनताको जीवनमा प्रभावकारी रूपमा लागू गर्नुपर्छ।”
प्रधानमन्त्री ओलीले मधेशको सामाजिक सद्भाव, सांस्कृतिक एकता र यहाँका नागरिकहरूको राष्ट्रिय सार्वभौमिकताप्रतिको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले चुरे क्षेत्रका जडिबुटी, वनसम्पदा, पानीका स्रोत, र कृषियोग्य भूभागले प्रदेशलाई अपार सम्भावना भएको बताए।
सुनकोसी डाइभर्सन परियोजनाजस्ता योजनाले मधेशमा सिँचाइ सुविधा बढाउने र पहाड–तराई एकता सुदृढ गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले औद्योगिक करिडोर, पेट्रोलियम पाइपलाइन, रेलमार्ग, एशियन हाइवे, हुलाकी सडक, द्रुतमार्गलगायत पूर्वाधार विकासले मधेशको आर्थिक रूपान्तरणमा टेवा पुग्ने उल्लेख गर्नुभयो। उहाँले वीरगञ्जलाई आर्थिक केन्द्र र जनकपुरधामलाई सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो।
जनकपुरमा अब सहज रूपमा रेल सेवा सञ्चालनमा आइसकेको प्रसंग उठाउँदै प्रधानमन्त्री ओलीले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने कुरामा जोड दिनुभयो। “प्रतिपक्ष रचनात्मक होस्, सरकार पनि प्रतिपक्षलाई साथमा लिएर अघि बढोस्,” उहाँले भन्नुभयो, “म मधेशलाई देशकै नमुना प्रदेश बनाउन एकता र दीर्घकालीन नीति अनुरूप कार्य गर्न आग्रह गर्दछु।”
प्रधानमन्त्री ओलीले जनक, सीता, परशुराम, विद्यापतिजस्ता ऐतिहासिक र सांस्कृतिक विभूतिहरूको योगदानको स्मरण गर्दै आधुनिक विकासमा उनीहरूको गौरवशाली परम्परालाई आत्मसात गर्नुपर्ने बताए।
उहाँले अब नगद वितरणलाई प्रोत्साहन नगरिने बताउँदै पशुपालन, उपकरण र औजारका लागि अनुदान प्रणालीमा जानुपर्ने स्पष्ट पार्नुभयो। यस्तो उत्पादनमुखी नीति दीर्घकालीन समृद्धिको आधार हुने उहाँको भनाइ थियो।