रुपन्देही, २४ जनवरी – बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि दोस्रो दिनको थुनछेक बहस शुक्रबार शुरु भएको छ। न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा चलिरहेको बहसमा सरकारी र उच्च सरकारी वकिलहरूको टोलीले बहस प्रस्तुत गरिरहेका छन्। आज सहकारी पीडित पक्षका वकिल र लामिछानेका वकिलहरूको बहस हुनेछ।
दुवैतर्फको बहस सकिएपछि जवाफी बहस हुने र त्यसपछि न्यायाधीशले थुनामा पठाउने, धरौटीमा रिहा गर्ने, वा साधारण तारिखमा छोड्ने निर्णय गर्नेछन्।
लामिछानेविरुद्ध माघ ६ गते सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा दर्ता भएको थियो। यस प्रकरणमा लामिछाने, पूर्व डीआईजी छविलाल जोशीसहित ४२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।