काठमाडौं- माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लव च्याम्पियनसीपको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । शनिवार सम्पन्न फाइनलमा उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
पुलिसले पहिलो सेट २५-१६, दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-२३ ले जितेको थियो । अपराजित रहँदै पुलिस च्याम्पियन बन्न सफल भएको छ ।
लिग चरणको पहिलो खेलमा नै हुमोलाई ३-० सेटमा पराजित गरेको पुलिसले श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३-० सेटले हराएको थियो । घरेलु टोली वाम्कोसँग भने कडा चुनौतीको सामना गर्दै ३-२ सेटको जित निकालेपछि अन्तिम खेलअघि नै पुलिस फाइनलमा प्रवेश गरेको थियो।
लिगचरणको अन्तिम खेलमा शुक्रवार पुलिसले माल्दिभ्स पुलिस क्लबलाई ३-१ ले हराउँदै अपराजित यात्रालाई कायम राखेको थियो । नेपालको लिगको विजेताका रुपमा पुलिसले काभा क्लव च्याम्पियनसिपमा भाग लिएको हो ।
पुलिसको भलिबल टोलीबाट कमला पुन (कप्तान) , उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्दको सहभागिता थियो भने मुख्य प्रशिक्षकमा रुपेश विष्ट र सहायक प्रशिक्षकमा सुशिला थापा छन् ।
प्रतियोगितामा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, श्रीलंका, ताजकिस्तान र कीर्गिस्तानका क्लबको सहभागिता थियो।