काठमाडौँ- अविरल बर्षा पछिको विपदमा परी काठमाडौँ उपत्यकामा ३२ जनाको मृत्यु भएको छ । अहिले सम्म काठमाडौँमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट प्राप्त जानकारीअनुसार वर्षाजन्य विपद्का घटनामा परी हाल सम्म १७ जना बेपत्ता र १७ जना घाइते भएका छन् । बाढीपहिरो तथा डुबानमा परेका एक हजार तीन सय १५ जनाको उद्धार गरिएको छ ।
काठमाडौँमा एक हजार तीन सय २४, ललितपुरमा पाँच सय र भक्तपुरमा चार सय १७ गरी उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् । बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् । उपत्यकाको नदीकिनार तथा आसपासका धेरै घरहरुमा बाढी पसेको छ ।
विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा तीन सय ५० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयले जानकारी दिएकोछ ।