पोखरा , राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सम्पन्न भएको छ।
जिल्ला अदालत कास्कीमा न्यायाधीश नीतिज राईको इजलासले लामिछाने लगायत प्रतिवादीहरूलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने विषयमा आजै आदेश दिने सम्भावना रहेको छ।
यसअघि, बुधवार प्रतिवादी पक्षबाट थुनछेक बहस सकिएपछि जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो। आज सरकारी वकिलको तर्फबाट जवाफी बहस पनि सम्पन्न भएको छ।
उक्त प्रकरणमा उच्च सरकारी वकिल कार्यालय पोखरा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीको तर्फबाट बहस गरिएको थियो। आदेश नजिकिँदै जाँदा पोखराको शहीद चोक र जिल्ला अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ, जहाँ प्रहरीको बाक्लो उपस्थिति देखिन्छ।
यस मामिलामा लामिछानेसहित पूर्व डिआइजी छविलाल जोशी, सहयोगी लीला पछाई, पूर्व सांसद मिना गुरुङ, मीनाका बाबु कृष्णबहादुर गुरुङ, र पूर्व कोषाध्यक्ष आरती गुरुङसमेत सात जना प्रतिवादी रहेका छन्।
सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र ७ गते दर्ता गरिएको अभियोजन पत्रमार्फत ६३ जनाविरुद्ध १ अर्ब ५१ करोड बिगो माग दाबीसहित मुद्दा दायर गरेको थियो। अब, न्यायाधीशको आदेशपछि यी प्रतिवादीहरू थुनामै रहने वा धरौटीमा रिहा हुने निर्णय हुनेछ।