शुक्रबार , बैसाख १४, २०८१

शुक्रबार , बैसाख १४, २०८१

सीमित साधनस्रोतका बाबजुद प्रहरीको भूमिका प्रशंसनीय

image

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित साधनस्रोतका बाबजुद नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

६७औँ प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराद्वारा आयोजित श्रद्धाञ्जलि तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान गर्दै आएको बताउनुभयो ।

नेपालमा जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्न २००७ सालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मुक्ति सेनासँग नेपाल प्रहरीको सम्बन्ध जोडिएको उल्लेख गर्दै उहाँले यस सङ्गठनको ऐतिहासिक गरिमा र महत्व रहेको बताउनुभयो ।

प्राकृतिक प्रकोप, शान्ति, सुरक्षालगायतका हरेक घडीमा आफूलाई इमान्दारिता, जिम्मेवारिताका साथ अघि बढाउँदै आएको प्रहरीले व्यावसायिकरुपमा पनि आफूलाई उत्तिकै सक्षम बनाएको उहाँले बताउनुभयो ।

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले अमर प्रहरीका परिवारजन, विभिन्न योगदान गर्ने व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभयो । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले नेपाल प्रहरीले देशको शान्तिसुरक्षा, अमनचयनमा निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताउनुभयो ।

आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहितरुपमा सम्पन्न गराउन नेपाल प्रहरीले विगतमा जस्तै महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी सङ्गठन सदैव जनमुखी, पारदर्शी र छिटोछरितो सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताउनुभयो ।

आसन्न निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउने जिम्मेवारीलाई कुशलताका साथ बहन गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक धीरजप्रसाद सिंहको सन्देश प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले वाचन गर्नुभएको थियो । उक्त अवसरमा अमर प्रहरी स्मारकमा मुख्यमन्त्रीसहित अतिथिले पुष्पार्पण गर्नुभएको थियो ।

सम्बन्धित समाचार