बिहिबार , बैसाख १३, २०८१

बिहिबार , बैसाख १३, २०८१

मध्यपुर थिमि नगरभित्रको मौलिक नाम प्रतिस्थापनका लागि समिति गठन

image

मध्यपुर थिमि नगरपालिकाले स्थानीय बस्ती, चोक, स्थान, सडक, टोल र गल्लीहरुको मौलिक नामलाई पुनर्जीवित गर्ने भएको छ । त्यसका लागि नगरपालिकाले एक समितिसमेत गठन गरेको छ ।

नगरपालिका क्षेत्रभित्र तीव्र गतिमा बढेको सहरीकरण तथा बस्ती विस्तारसँगै जथाभावी टोल, सडक र गल्लीहरुको नामकरण गर्ने प्रवृत्ति बढेको र त्यसले स्थानीय मौलिक नामहरुको अस्तित्व लोप हुने अवस्थामा पुगेको भन्दै नगरपालिकाले मौलिक नामलाई पुनर्जीवित गर्ने अभियान थालेको हो । सो सम्बन्धमा आज नगपालिकामा आयोजित सरोकारवालाहरुसँगको छलफलले एक समिति गठन गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न छलफलले स्थानीय अभियन्ता राजेन्द्र तुबन्जा श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा मध्यपुर थिमि नगरपालिका स्थापना हुनुअघि तत्कालीन पाँच वटा गाविसको प्रतिनिधित्व हुने गरी प्रत्येक गाविसबाट हाललाई दुई÷दुई जना सदस्य चयन गरिएको छ ।

समितिको सदस्यमा तत्कालीन दिव्यश्वरी गाविसबाट जगतकृष्ण प्रजापति र सुरेन्द्रबहादुर सिजापति, बालकुमारी गाविसबाट बाबुकाजी साछें श्रेष्ठ र कृष्णकाजी (केके) मानन्धर, चपाचोबाट धर्मसुन्दर बज्राचार्य र श्यामकृष्ण मानन्धर, नगदेशबाट तुल्सीभक्त घजु र विनोद कोजु तथा बोडेबाट विनोद खम्बु र भरत ध्वँ सदस्य हुनुहन्छ । समितिमा आवश्यकतानुसार १० जना थप गरिने संयोजक श्रेष्ठले बताउनुभयो ।

समितिले वडाध्यक्षहरुसँग आवश्यक छलफल, सहकार्य र समन्वय गरी मध्यपुर थिमि नगरभित्रका परम्परागत एवं ऐतिहासिक मौलिक नामहरुको सङ्कलन, सङ्कलित नामहरुको अध्ययन अनुसन्धान गरी प्रतिस्थापनका लागि नगरपालिका समक्ष सिफारिस गर्नेछ । समितिको सिफारिसका आधारमा नगरपालिकाले स्थानीय मौलिक नामहरुको प्रतिस्थापन गर्दै जाने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

समितिले नगरपालिकाले निर्माण गर्ने कार्यविधिको अधीनमा रहेर कार्य गर्नेछ । त्यसका लागि कार्यविधिको मस्यौदा तयारी भइरहेको समितिका संयोजक राजेन्द्र श्रेष्ठले बताउनुभयो । कार्यविधि निर्माण भएपछि नगरपालिकाले समितिलाई कार्यादेश दिने र सोहीअनुसार समितिले प्रतिवेदन तयार गरी नगरपालिकालाई बुझाउने नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित समाचार