बिहिबार , बैसाख १३, २०८१

बिहिबार , बैसाख १३, २०८१

भक्तपुरमा मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता

image

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज भक्तपुर क्षेत्र नं १ र २ को निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन सुरु भएको छ ।

बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गराउने समयावधि रहे पनि भक्तपुर नगरपालिका दरबार स्क्वायरस्थित पुस्तकालयमा रहेको भक्तपुर क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयमा र मध्यपुरथिमि बोडेस्थित कृषि विकास तालिम केन्द्रको भवनमा रहेको क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयमा १२ बजेपछि मात्रै उम्मेदवारी दिनेको चहलपहल सुरु भएको थियो ।

त्यसैक्रममा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रतिनिधिसभा सदस्यमा भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । बिहान ११ः३० बजेमध्यपुर थिमिको शङ्खधर चोकमा भेला भई बालकुमारी, पुरानो थिमि, बाहखा बजारहुँदै बोडेस्थित कृषि विकास तालिम केन्द्रमा रहेको क्षेत्र नं २ निर्वाचन कार्यालयमा पुगेर १ बजे उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता बस्नेतले विगत पाँच वर्षमा आफ्नो पहलमा भक्तपुरको विकासले फड्को मारेको बताउँदै अबको पाँच वर्ष विकास, कृषि, सीप विकास र युवा रोजगारीको कार्यक्रमलाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँसँगै एमालेको तर्फबाट बागमती प्रदेशसभा सदस्यका लागि क्षेत्र नं २ ‘क’ किरण थापा र ‘ख’ मा चन्दनकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनकोतर्फबाट नेपाली कांग्रेस सभापति दुर्लभ थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । दिउँसो २ बजे शङ्खधर चोक थिमिबाट ¥यालीसहित गएको गठबन्धनको टोली बोडे पुगेर ३ बजे उहाँले उम्मेदवारी दर्ता गराएको हो ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले भक्तपुरको विभेदरहित विकास, भ्रष्टाचारको नियन्त्रण र जनताको चाहनालाई पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँसँगै बागमती प्रदेशसभाका लागि भक्तपुर क्षेत्र नं २ ‘क’ मा कांग्रेसका नेता विष्णुराज कार्की र ‘ख’ मा नेकपा समाजवादीका राजेन्द्रमान श्रेष्ठले उम्मेदवारी दिनुहुने भएको छ ।

त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्यमा नवराज गेलालले उम्मेदवारी दर्ता गराउनुभएको छ । कमलविनायकबाट आएको ¥याली भक्तपुर नगरपालिकास्थित जनज्योति पुस्तकालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गेलालले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँसँगै एमालेबाट भक्तपुर क्षेत्र नं १ ‘क’ मा नारायणसुन्दर शिन्ताकल र ‘ख’ मोहनवीर श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

गठबन्धनको तर्फबाट भने भक्तपुर क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का नेता सुनिल वासु गोठेले उम्मेदवारी दर्ता गराउनुभएको छ । कमलविनायकबाट आएको गठबन्धनको ¥यालीसहित गोठेले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँसँगै गठबन्धनका तर्फबाट बागमती प्रदेशसभा सदस्यमा भक्तपुर क्षेत्र नं १ ‘क’ बाट नेपाली कांग्रेसका नेता सुरेश श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । अन्य दल र स्वतन्त्रबाट पनि उम्मेदवारी दर्ता गराउने कार्य जारी रहेको छ ।

सम्बन्धित समाचार