सोमबार , मंग्सिर १२, २०७९

सोमबार , मंग्सिर १२, २०७९

सादगी जीवनशैली, इमान्दारिता र निष्ठा गिरीबाट सिक्नुपर्छ : प्रसाईं

image

नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाउनुभएका प्रदीप गिरी राष्ट्रियरुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित हुनुहुन्छ । स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उहाँको हिजो निधन भएको छ । उहाँँको निधनको खबरले सबैलाई दुखित तुल्याएको छ । उहाँमा रहेको बौद्धिकता, स्पष्टता, सादगीपनको सर्वत्र चर्चा भएको छ । पछिल्लो समयमा गिरीलाई नजिकबाट नियाल्नुभएका अनुसन्धाता दिनेश प्रसाईंसँग गरिएको कुराकानीको सम्पादित अंश:
नेहरु विश्वविद्यालयले जुराएको भेटघाट

प्रदीप जीसँग मेरो विशेष भेटघाट २०६० सालदेखि भएको हो । तत्कालीन राजा ज्ञानेन्द्रको माघ १९ को दोस्रो कदमपछि उहाँसँग मेरो नयाँ दिल्लीमा भेट भयो । नयाँदिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा अनुसन्धानका सिलसिलामा भएको भेटघाट मेरा लागि निकै स्मरणीय छ । २०६२÷६३ को लोकतान्त्रिक आन्दोलनका समयतिर हामीले नयाँदिल्लीबाट लोकतन्त्र भन्ने पत्रिका निकाल्थ्यौँ । त्यसका लागि प्रदीपजीले प्रत्येक अङ्कका लागि १० हजार रुपैयाँ जुटाइदिनुहुन्थ्यो । उक्त पत्रिकाका लागि नेताहरूको लेख उपलब्ध गराउन उहाँले सहयोग गर्नुहुन्थ्यो । सो पत्रिकाको प्रधानसम्पादक शैलेश आचार्य हुनुहुन्थ्यो भने म कार्यकारी सम्पादक रहेको थिएँ । एक महिनादेखि दुई तीन महिनाको अन्तरालमा निस्कने उक्त पत्रिका हामीले छ अङ्कसम्म प्रकाशन ग¥यौँ ।

नेपालमा लोकतन्त्रका लागि माओवादी र संसदीय दलहरू मिल्नुपर्छ भन्ने सन्देशलाई उक्त पत्रिकाले जोड दिने गरेको थियो । लोकतन्त्रका पक्षमा विभिन्न लेख, रचना पत्रिकामा छापिन्थे । तत्कालीन समसामयिक राजनीतिका सम्बन्धमा नरहरि आचार्य, प्रदीप ज्ञवाली, बाबुराम भट्टराईलगायत विभिन्न नेताका लेख उक्त पत्रिकाका माध्यमबाट प्रकाशन हुन्थे । उक्त पत्रिकाका सिलसिलामा उहाँसँग राम्रै छलफल तथा भेटघाट हुने गर्दथ्यो । नेपालमा लोकतन्त्रको स्थापनापछि पनि विद्यावारिधिका सिलसिलामा मैले त्यसपछिका चार वर्ष नयाँ दिल्लीमा नै बिताए । त्यसबीचमा पनि प्रदीप गिरी भारत आउँदाजाँदा बाक्लै भेटघाट हुने गरेको थियो ।

जवाहरलाल नेहरु विश्वविद्यालयमा रहँदा तत्कालीन समयमा नेपालबाटै विद्यावारिधिका लागि गएका २०/२५ जना साथी मिलेर हामीले ‘टक सिरिज’ पनि चलाउथ्यौँ । उक्त टक सिरिजमा साहित्य, सङ्गीत, दर्शन, राजनीतिका विषयमा चर्चा परिचर्चा गरिन्थ्यो । उक्त सिरिजमा भारतका ठूलाठूला विद्धान पनि सहभागी बन्ने गर्दथे । भारतका ठूलाठूला विद्वानहरूसमेत सहभागी हुने ती सिरिजमा प्रदीप गिरीको उपस्थिति हाम्रा लागि गर्व महशुस गराउथ्यो । भारतीय विद्धान पनि उहाँलाई निकै आदर सम्मान गर्दथे । उहाँको बौद्धिकता नेपालको मात्र नभई भारत र समग्र दक्षिण एशियाकै लागि गर्व गर्न लायकको थियो ।

चारै भाषामा राम्रो दख्खल

वौद्धिकताको हिसाबले मात्र नभई उहाँको विभिन्न भाषामा उत्तिकै दख्खलता थियो । गिरीको नेपाली, अङ्ग्रेजी, हिन्दी र संस्कृत चारवटै भाषामा राम्रो ज्ञान थियो । यी चारवटै भाषामा उत्तिकैरुपमा राम्रोसँग लोमो समयसम्म पनि बहस गर्नसक्ने उहाँको अचम्मको क्षमता थियो ।

अचम्मको सादगीपन

उच्चस्तरको बौद्धिक नेता भएर पनि गिरीमा अचम्मको सादगीपन थियो । हामीहरू नयाँदिल्लीमा त्यस समयमा अटोमा हिँड्ने गर्दथ्यौँ । टाउकोमा फेटा बाँधेर हिँड्ने गिरीसँग म ठूलो हुँ भन्ने भावना कहिल्यै पनि देखिएन । दिल्लीमा त्यहाँको राजनीतिसँगै विश्व राजनीतमा प्रभाव पार्ने ठूलाठूला नेता तथा साहित्यकारसँग उहाँको बृहत् सम्बन्ध थियो । सोनिया गान्धी, करण सिंहजस्ता नेताहरूसँग उहाँको सिधै सम्पर्क थियो । नेपालबाट जाने नेताहरूले भारतीय नेतासँग भेट गराउन उहाँलाई भेट्न खोज्दथे । तर उहाँमा सकेसम्म यहाँबाट गएका नेतासँग नभेट्ने अचम्मको बानी थियो ।

अध्यात्ममा अत्यधिक रुचि रहेका कारण पनि उहाँ समयसमयमा भारतका विभिन्न स्थानमा रहेका सन्यासीको अखडामा गएर समय बिताउनुहुन्थ्यो । सामान्य किसिमको खानपिन रुचाउनु हुने गिरीले प्रायःसादा खाना, दही, दुई तीन वटा रोटी र समयानुसारको तरकारी खानुहुन्थ्यो । मैले उहाँले धूमपान गरेको देखिन । विसं २०६०÷६१ देखि नै उहाँले खानेकुरामा पथपरेजमा बस्ने गर्नुभएको थियो । अध्ययन सकेर नेपाल फर्केपछि व्यवसायका सिलिसिलामा मैले पोखरामा सञ्चालन गरेको जलमहल होटेल उहाँको अधिकांशः यहाँ आउँदा बस्ने स्थान हो । जलमहलमा कोठा अपुगै भएका अवस्थामा बाहेक उहाँ यहीँ नै बस्ने भएकाले उहाँसँग दिल्लीपश्चात् पनि निरन्तर छलफल एवं अन्तक्र्रिया हुने गरेको थियो ।

अरुलाई अध्ययनमा प्रेरित गरिरहने

प्रदीप गिरी आफू मात्रै अध्ययन गर्ने होइन, अरुलाई पनि अध्ययनमा प्रेरित गरिरहनुहुन्थ्यो । भेट भएका युवालाई पञ्चतन्त्र, महाभारत जस्ता ग्रन्थ पढ्नका लागि उहाँले अभिप्रेरित गर्नुहुन्थ्यो । आफू पनि निरन्तर पढिरहने उहाँ एकै दिनमा तीन÷चारवटा पुस्तक पढ्ने गर्नुहुन्थ्यो । नयाँदिल्लीको दारियागञ्जमा प्रत्येक आइतबार पुराना पुस्तकको बिक्रीवितरण हुने गरी हाट लाग्ने गर्दछ । त्यहाँ गएर गिरीले प्रत्येक पटक २०/३० वटा पुस्तकसम्म किन्ने गर्नुहुनथ्यो ।

त्यस्तै जवाहरलाल नेहरु विश्वविद्यालय नजिकै वसन्त विहारमा पनि विभिन्न विषयका पुस्तकहरू किन्नका लागि उहाँ जाने गर्नुहुनथ्यो । त्यहाँ विशेषतः सामाजिक अध्ययन विषयका पुस्तकहरू पाइन्थ्यो । नयाँदिल्लीकै बौद्धिक व्यक्ति पुग्ने खान मार्केटमा पनि उहाँ समयसमयमा पुगेर किताब किन्ने गर्नुहुन्थ्यो । मेरा अनुभवमा उहाँले किताब नकिनेको कुनै हप्ता नै हुँदैनथ्यो । पोखरामा दुई पटकसम्मका साहित्य मेलामा उहाँले गर्नुभएको दन्त्य कथा र महाभारतका पात्र विषयक परिचर्चा अहिले पनि उत्तिकै चर्चामा छ ।

कार्यक्रममा बोलाउन ४ बजेपछिको समय उपयुक्त

नयाँ दिल्लीमा टक सिरज तथा अन्य वैचारिक कार्यक्रममा गिरीलाई सहभागी बनाउनका लागि हामीले धेरैजसो अपराह्न ४ बजेपछिको समय राख्ने गर्दथ्यौँ । अत्यधिक पढिरहने गिरी राति अबेरसम्म पनि पढ्ने भएकाले भोलिपल्ट अपराह्न १२ देखि १ बजेसम्म उहाँलाई सुत्नुपथ्र्यो । उहाँको उपस्थितिले कार्यक्रमको गरिमा नै उँचा हुने भएकाले उहाँको समयलाई बाधा नपार्ने किसिमले हामीले त्यही किसिमबाट कार्यक्रम तय गर्ने गर्दथ्यौँ ।

भारतीय नेताहरूसँग राम्रो सम्बन्ध

गिरीको भारतीय नेताहरूसँग अचम्मको नजिकको सम्बन्ध थियो । उहाँ र करण सिंहलगायतका नेतासँगको केही भेटघाटमा मैलेसँगै जाने अवसर पाएको छु । करण सिंहले उहाँलाई अत्यन्त आदर गर्नुहुन्थ्यो । जुन मैले प्रत्यक्ष देखेको छु । भारतीय नेताहरू नितिश कुमार, लालुप्रसाद यादव, बिपी त्रिपाठीलगायतका नेतालाई उहाँले प्रशिक्षण दिनुभएको छ ।

भारतीय राजनीतमा राम्रो प्रभाव राख्ने अधिकांश नेताहरूसँग उहाँको अचम्मको सुमधुर सम्बन्ध थियो । भारतमा इन्दिरा गान्धीको सङ्कटकालको समयपछि उहाँले भारतमै रहेर ‘सोसिइलिष्ट मुभमेन्ट’को नेतृत्व पनि गर्नुभएको थियो । विशेषगरी गान्धीवादी विचारक गिरीको भारतका नेताहरू जयप्रकाश नारायण, राममनोहर लोहियाहरूसँग नजिकको सम्बन्ध रहेको थियो । उहाँको सोनिया गान्धी, इन्दिरा गान्धी, राजीव गान्धीलगायतका नेतासँग पनि राम्रै सम्बन्ध थियो ।

तेस्रो प्राथमिकतामा राजनीति

त्यत्रो बौद्धिक र प्रभावशाली नेता भएर पनि उहाँको राजनीति भने तेस्रो प्राथमिकतामा थियो । उहाँको पहिलो प्राथमिकता साहित्य हो भने दोस्रो प्राथमिकता अध्यात्म हो । उहाँलाई राजनीतिलाई किन प्राथमिकतामा राख्नुहुन्न भन्ने जिज्ञाशामा म राजनीतिबाट ‘डिष्ट्रव’ हुन चाहन्न भन्नुहुन्थ्यो । उदार स्वभावका उहाँ सबै राजनीतिक दललाई उत्तिकै सहयोग गर्नुहुन्थ्यो । उहाँ सबैको मान्छे हो । आफ्नै पार्टीको पनि उहाँले स्पष्टरुपमा आलोचना गर्नुहुन्थ्यो ।

गिरीबाट सिक्नुपर्ने पाठ

सादगीपनसँगै गिरीको इमान्दारिता, निष्ठा, अध्ययनशीलता वर्तमानमा जो कोही नेतृत्वले सिक्नुपर्दछ । गाउँगाउँमा कुटिर उद्योगमार्फत रोजगारी सिर्जना गर्नुपर्छ भन्ने विचार राख्ने गिरीले सधैँ गाउँ केन्द्रित राजनीतिका पक्षमा आवाज उठाउनुभयो । समाजका सबै वर्ग र समुदायको समुत्थान हुनुपर्छ भन्दै उहाँले ‘कदमजम’ को नारालाई अघि सार्नुभएको थियो । राष्ट्रमा सबैको पहुँच स्थापना हुनुपर्ने भन्दै उहाँले कर्णालीको समस्या, दलित, महिला, जनजाति र मधेसीलाई समेट्दै अघि बढ्नुपर्ने विषयलाई जीवनपर्यन्त उठाइरहनुभयो ।
(यो विचार गिरीको निधनपछि अनुसन्धाता दिनेश प्रसाईंसँग राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेलले टेलिफोन संवादका आधारमा तयार गर्नुभएको हो)

सम्बन्धित समाचार