आइतबार , बैसाख २३, २०८१

आइतबार , बैसाख २३, २०८१

नेपाली कांग्रेस केन्द्रिय समितिको वैठकलाई सुझाव

image

नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक झण्डै ११ महिना पछि आज बस्दैछ । यस बीचमा नेपालको राजनिती र पार्टीकै आन्तरिक राजनीतिमा धेरै उतारचढावहरु आएका छन् । आमनिर्वाचन, गठबन्धन दलका बीचमा फुट,सत्ता समीकरणमा परिवर्तन, सरकार परिवर्तन, राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन, उपनिर्वाचन, नक्कली भुटानी शरणार्थी प्रकरण, देशको आर्थिक अबस्था, बजेट, नागरिकता बिधेयक, रेशम चौधरीको आममाफी, ललिता निवास जग्गा घोटाला काण्ड सहित दर्जनौं मुद्दाहरूका बारेमा संसद र सडकमा समेत छलफल बहस शुरु भएको छ ।

त्यसै गरि पार्टी भित्र चुनावी गठबन्धनको बहस, पार्टी रुपान्तरणको बहस, पार्टी नेतृत्व परिवर्तन बहस, संसदीय दलको नेता परिवर्तन बहस, पार्टीका केन्द्रिय नेताहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता भएको आरोपका सम्बन्धमा, बिधानको कार्यान्वयनका सम्बन्धमा सार्वजनिक भेला र बैठक र नेताहरुको अन्तर्वार्ताहरुमा धेरै कुराहरु बाहिर आईरहेका छन् । सार्वजनिक रुपमा उठेका यी मुद्दाहरुको बिषयमा यो केन्द्रिय समितिको बैठकमा पक्कै छलफल र बहस हुनेनै छ । यो संगसंगै नेपाली कांग्रेस संलग्न रहेको तीनै तहको सरकारको कामको प्रभावकारीताको बारेमा गम्भीर समिक्षा भई यो बैठकले तीनै तहको सरकारलाई जनतालाई सुशासनको प्रत्याभुती दिलाई जनमुखी काम गरेर जनताको मन छुन सक्ने काम गर्न दिशा निर्देश गर्नेनै छ ।

यसको अलावा यो बैठकले बिगतको निर्मम समिक्षा गरी नेपाली कांग्रेसले पार्टीको आन्तरिक एकतालाई मजबुत बनाई संगठनलाई चुस्त दुरुस्त बनाउदै कार्यकर्ता र जनताको भरोसा र बिश्वास जित्दै सबैमा आशा जगाउन सक्नु पर्दछ । त्यसका लागि यो बैठकले तत्कालीन र दीर्घकालीन गरेर निम्न निर्णयहरु गरि कार्यान्वयन गर्न बुदाँगत रुपमा केहि सुझाव राख्न चाहन्छु  ।

तत्कालीन

  • बिधानमा उल्लेख भए अनुशारको पार्टी सम्पूर्ण संरचनाहरु, भातृसंस्थाका सम्पूर्ण संरचनाहरुलाई पूर्णता दिएर कृयाशिल बनाउने ।
  • १६५ निर्वाचन क्षेत्रमा कम्तीमा ३ महिनाका लागि केन्द्रिय सदस्यहरु, पार्टीका नेताहरुलाई जिम्मेवारी तोकेर संगठन सुदृढीकरण अभियान संचालन गर्ने ।
  • नीति अधिबेशनको मिति तय गरि १६५ निर्वाचन क्षेत्रमा खटिएका केन्द्रीय प्रतिनिधिहरु मार्फत सुझाव संकलन ।
  • ३३० प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश प्रतिनिधिहरु खटाएर प्रत्येक पालिका र वडाहरुमा सदस्यता बितरण अभियान सहित ३ महिने तरुण, महिला, किसान, श्रमिक जागरण अभियान संचालन गर्ने ।
  • नवीकरण सहित पार्टीको कृयाशील सदस्यता कार्ड बितरण, अध्यावधिक र नयाँ बितरण कार्य अघि बढाउने ।
  • तीनै तहका सरकारलाई जनताको मन छुने नीति तथा कार्यक्रम ल्याई लोकप्रिय योजनाहरु प्रभावकारी ढंगले कार्यान्वयन गर्न लगाउने । सबै तहका जनप्रतिनिधिहरु, प्रत्यासी उम्मेदवारहरुको बैठक, भेला, प्रशिक्षणको कार्यक्रम संचालन गरि जनप्रतिनिधिहरुको क्षमता अभिबृध्दी गर्दै जनताको मन छुने काम गर्न अभिप्रेरित गर्ने, कामको अनुगमन, नियमन र मुल्यांकन गर्ने गराउने ।
  • ७७ जिल्लाहरुमा शिर्ष नेताहरुको उपस्थितिमा जिल्ला स्तरीय आमसभा गर्ने ।

दीर्घकालिन

  • नेपाली कांग्रेसको बिधानलाई कडाईका साथ सबै तहले पालना गर्ने गराउने ।
  • बिधान संशोधन गरेर वडा तहमै कृयाशील सदस्यताको निर्णय गर्ने ब्यबस्था मिलाउने र माथिल्लो निकायले अनुगमन र नियमन गर्ने । अपारदर्शी र अधिबेशन केन्द्रित कृयाशील सदस्यता बितरणको बेथिति अन्त्य गर्ने ।
  • मजबुत संगठन र जिम्मेवारी बोधका साथ योगदान, योग्यता, क्षमता, निरन्तरता र लोकप्रियताका आधारमा नेतृत्व चयन र अवसरहरुको न्यायोचित र पारदर्शी बितरण हुनुपर्छ । त्यसका लागि अब हामीले बिधानमै वडाको टिकट वडाले, पालिकाको टिकट पालिकाले, प्रदेश क्षेत्रको टिकट प्रदेश क्षेत्रले, संघको टिकट क्षेत्र/जिल्लाले लोकतान्त्रिक बिधीबाट निर्णय गर्ने ब्यबस्था मिलाउनु पर्छ । माथिल्लो निकायले अनुगमन, नियमनको जिम्मा लिनु पर्छ ।
  • पार्टीको बिधानमानै एउटै ब्यक्ति लगातार मन्त्री ४ पटक र प्रधानमन्त्री २ पटक भन्दा बढी हुन नपाउने ब्यबस्था गर्ने ।
  • पार्टीको कुनै पनि तहको सभापतिले उम्मेदवार बन्न नपाउने ब्यबस्था बिधानमा गर्ने वा १ ब्यक्ति १ पदको ब्यबस्था गर्ने ।
  • संगठनलाई चुस्त, दुरुस्त र चलायामान बनाउन पार्टी एवं भातृ संघसंस्थाका केन्द्र र प्रदेशका सदस्यहरुलाई जिल्ला, क्षेत्र, प्रदेश क्षेत्र र स्थानिय तहमा निश्चित समयावधि(चार महिना) तोकेरै (बर्षा याम बाहेक) प्रतिनिधिको रुपमा खटाउने र प्रत्येक २ महिनामा आफुलाई खटाएको तहमा प्रतिबेदन पेश गर्ने ब्यबस्था मिलाउने ।
  • सबै तहका जनप्रतिनिधिहरु संग सम्बन्धित तहले प्रत्येक महिना छलफल गर्ने ब्यबस्था मिलाउने ।
  • ४/४ महिनामा पार्टी र भातृसंस्थाको सबै तहमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने ।
  • पार्टीका सम्पूर्ण गतिविधिहरुको अनुगमन, मुल्यांकन र सुपरिवेक्षणका लागि सम्बन्धित तहका पदाधिकारी र पूर्व पदाधिकारी, वरिष्ठ नेताहरुलाइ खटाउने ।

दीपन कुमार श्रेष्ठ
निवर्तमान जिल्ला सभापति
नेपाली कांग्रेस, संखुवासभा

सम्बन्धित समाचार