चीनले उपग्रह सञ्चार प्रविधिमा ठूलो सफलता हासिल गर्दै १०० गिगाबिट प्रति सेकेन्ड (Gbps) गतिको डाटा प्रसारण गर्न सफल भएको छ। यो उपलब्धि Chang Guang Satellite Technology Co. ले घोषणा गरेको हो, जसअन्तर्गत Jilin-1 02A02 उपग्रह प्रयोग गरिएको थियो।
यो परीक्षणका क्रममा चलायमान ट्रक-आधारित ग्राउन्ड स्टेशन बाट Jilin-1 नक्षत्रका ११७ उपग्रहमध्ये एक सँग सञ्चार गरिएको थियो। परम्परागत रेडियो-आधारित प्रविधिको सट्टा, यसमा लेजर-आधारित फ्रि-स्पेस अप्टिकल कम्युनिकेशन प्रविधि प्रयोग गरिएको थियो, जसले उच्च गतिको डाटा प्रसारणको नयाँ कीर्तिमान कायम गरेको छ।
चिनियाँ वैज्ञानिकहरूको अनुसार, यो गति चीनकै अघिल्लो रेकर्ड भन्दा १० गुणा तीव्र छ। यो उपलब्धिले चीनलाई उपग्रह सञ्चार प्रविधिमा Elon Musk को Starlink जस्ता प्रतिस्पर्धीहरूभन्दा अगाडि पुर्याउने विश्वास गरिएको छ।
विशेषज्ञहरूका अनुसार, लेजर प्रविधि प्रयोग गर्दा ब्याण्डविथ बढी हुने र लेटेन्सी कम हुने फाइदा भए पनि, यो वायुमण्डलीय प्रभावहरू प्रति संवेदनशील हुन सक्छ। हाल SpaceX ले पनि Starlink उपग्रहबीच लेजर लिङ्कहरू विकास गरिरहेको छ, जसले भविष्यमा प्रतिस्पर्धा अझ तीव्र हुन सक्ने संकेत गर्छ।
यस प्रविधिको प्रयोग विशेष गरी दूरदराजका क्षेत्रहरू, विपद् व्यवस्थापन, सैन्य सञ्चार, र उच्च गतिको डेटा प्रसारण आवश्यक पर्ने क्षेत्रमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।