मंगलबार , मंग्सिर २५, २०८१

मंगलबार , मंग्सिर २५, २०८१

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

image

काठमाडौं- कराते खेलाडी एरिका गुरुङले १३ औं विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकीछिन् । असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा हुने प्रतियोगितामा नेपालबाट सहभागी हुने एरिका एक्ली खेलाडी हुन् ।

प्रतियोगितामा सहभागी हुने एरिकासहित ४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । सोही कार्यक्रममा जितेन्द्रमान गुरुङ र विशाल चौलागाईंले प्रायोजन गरेको किट्स र ट्रयाकसुट पनि टोलीलाई हस्तान्तरण गरिएको छ । टोली शनिबार भेनिस प्रस्थान गर्ने छ ।

एरिकाले यु–२१ उमेरसमूहको महिला ६८ केजीमाथि तौलसमूहमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । एरिकाको खेल असोज २३ नै हुनेछ । यो स्पर्धाको सेमिफाइनल र फाइनल असोज २७ गते हुनेछ ।

क्याडेट र जुनियरको पनि प्रतिस्पर्धा हुने प्रतियोगितामा १ सय १३ राष्ट्रका १ हजार ९ सय ९५ खेलाडीको सहभागिता रहने टोलीका प्रशिक्षक कुशल श्रेष्ठले बताएकाछन् । अफिसियलमा तारा गुरुङ र सन्तोष श्रेष्ठ छन् ।

एरिकाको यो समग्रमा छैटौं अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । विगतका पाँचै अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र १ कांस्य सहित नेपाललाई समग्रमा ८ पदक दिलाएकी एरिकाले यो सफलता १ वर्षको छोटो अवधिमा हासिल गरेकीहुन् ।

एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पिन्सिपमा स्वर्ण र कांस्य जितेकी थिइन् । त्यस्तै १९ औं एसियाली खेलकुदमा रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन करातेमा स्वर्ण र रजत, भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २ स्वर्ण र चीनको हाङझावमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपमा रजत जितेकी छन् ।

एसियाली खेलकुद र एसियाली सिनियर करातेमा एरिकाले जितेको रजत नेपाली करातेको इतिहासमा हालसम्म कुनै खेलाडीले जित्न सकेका छैनन् । एरिकाले यि सबै प्रतियोगितामा पदक जित्दा कुशलनै प्रशिक्षकको भूमिकामा थिए ।

कार्यक्रममा सदस्य–सचिव घिसिङले रणनीतिक तयारी अन्तर्गत एरिकाले सहभागी हुने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता र तालिमका लागि राखेपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सफलताका लागि शुभकामना दिए ।

अध्यक्ष लामाले करातेले एसियाली स्तरमा नेपालले पदक जितेर इतिहास रचिसकेको बताउदै नेपालले करातेको विश्व च्याम्पियनसिपमा नजितेको पदक एरिकाबाट सम्भव हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार