शनिबार , बैसाख ८, २०८१

शनिबार , बैसाख ८, २०८१

डा आरजु राणा देउवा कैलाली ५ बाट सिफारिस

image

कैलाली- नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवा कैलाली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट पार्टीको उम्मेदवार सिफारिस हुनुभएको छ ।

कांग्रेसको क्षेत्रीय कार्यसमितिको बैठकले डा राणालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको क्षेत्रीय सभापति भीम पडालले जानकारी दिनुभयो ।

यो क्षेत्रबाट युवा नेता क्षितिज भण्डारी पनि आकांक्षी रहेकामा उहाँको पक्षमा कार्यसमितिमा सहमति बन्न नसकेको पडालले बताउनुभयो । कांग्रेस नेत्री राणाले निर्वाचन क्षेत्र नं ५ बाट पाँच वर्षअघि भएको निर्वाचनमा समेत प्रतिनिधि सभासदस्य पदका लागि प्रतिस्पर्धा गर्नुभएको थियो ।

तत्कालीन नेकपा (एमाले) का प्रत्यासी नारदमुनी रानासँग उहाँ झण्डै पाँच हजार मतान्तरले पराजित हुनुभएको थियो । राना नेकपा (एमाले)को तर्फबाट आउने निर्वाचनमा पनि उम्मेदवार हुनुहुने सो पार्टीका युवा नेता चूडामणि भट्टले बताउनुभयो ।

निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनमा कमलबहादुर शाह, मोहनसिं राठौर, हेमबहादुर रावल, धर्मराज न्यौपाने, टीका चौधरीसहित सात जनालाई सिफारिस गरिएको प्रदेश कार्यसमिति सभापति भीम जैशीले बताउनुभयो । यो क्षेत्रबाट एमालेका सूर्यबहादुर थापा, कमला ओली र झपट रावलमध्ये एक जनाले टिकट पाउने जनाइएको छ ।

यसअघिको निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन नेकपा (एमाले) का प्रत्यासी झपट रावलले कांग्रेसका प्रत्यासी मोहनसिंह राठौरलाई झण्डै दुई हजार मतान्तरले पराजित गर्नुभएको थियो ।

यस्तै कैलालीको निर्वाचन क्षेत्र नं ४ बाट कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, पूर्वकेन्द्रीय सदस्य नेता सुनिलकुमार भण्डारी, कांग्रेसका पूर्वजिल्ला उपसभापति प्रकाश बम, डा लक्ष्मीराज पाठक, टेकराज जोशीलगायतलाई सिफारिस गरिएको छ ।

यसअघिको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रत्यासी लेखराज भट्टले कांग्रेसका प्रत्यासी सुनिलकुमार भण्डारीलाई झण्डै नौ हजार मतान्तरले पराजित गर्नुभएको थियो । भट्ट नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

सम्बन्धित समाचार