काठमाडौँ- नेपाल सुपर लिग (एनपिएल) टोली सुदूरपश्चिमाञ्चल रोयल्सले ओलम्पियन दीपक विष्टलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । विष्ट र सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले आज आयोजित एक का्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेकाछन् ।
सुदूरपश्चिम मात्र नभइ नेपालकै सफल तेक्वान्दो खेलाडी विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउनु खुसीको बिषय भएको सुदूरपश्चिम रोयल्सका मालिक शाहले बताए । उनले भने ,‘उहाँ खेलकुदको रोलमोडल हो । आफ्नो समयमा खेलेर योगदान गर्नुभयो । अहिले नयाँ पुस्ताका खेलाडीलाई हौसला बढाउँदै आउनुभएको छ । उहाँ हामीसँग जोडिनु सुदूरपश्चिम रोयल्सका लागि गर्वको विषय हो ।’
दक्षिण एसियाली खेलकुदका ४ पटकका स्वर्ण पदक विजेता विष्टले एसियाली खेलकुदमा दुई पटक कास्य पदक जितेकाछन् । विष्टले छनोट चरण पार गरेर बेइजिङ ओलम्पिक २००८ समेत खेलेकाछन् ।
सुदूरपश्चिम रोयल्सलाई धन्यवाद दिँदै विष्टले सुदूरपश्चिम क्रिकेटका लागि उर्वर भूमि भएको र एनपिएलको आयोजनाले व्यवसायिक क्रिकेटलाई उचाईमा पुर्याउने सम्भावना रहेको बताएकाछन् ।
उनले भने, ‘यो उद्देश्यमा साथ दिन सुदूरपश्चिम रोयल्समा जोडिन पाउँदा खुसी लागेको छ । एनपिएलको आयोजनाले अन्ततः नेपाली क्रिकेट कै विकास हुने आशा छ ।’
सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षक जगत टमटा हुन् ।