शुक्रबार , बैसाख १४, २०८१

शुक्रबार , बैसाख १४, २०८१

कञ्चनपुर क्षेत्र नं २ मा कांग्रेस र एमालेका उम्मेदवार बीच प्रतिस्पर्धा

image

कञ्चनपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउद र नेकपा (एमाले)का नरबहादुर धामीबीचमा नै प्रतिस्पर्धा हुनेभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरिरहनु भएका साउद र एमालेबाट उम्मेदवार रहनुभएका धामीबीच तेस्रोपटक चुनावी प्रतिस्पर्धा भइरहेको छ ।

गठबन्धन भएका कारण चुनावी प्रतिस्पर्धामा विजयी हुनेमा साउद ढुक्क हुनुहुन्छ । उहाँले विकास निर्माणका कुरालाई चुनावी मुद्दाका रूपमा अघि सार्नुभएको छ । चुनावी प्रचारका क्रममा उहाँ आफूले सांसद नभएर पनि गरेको विकासका चर्चा सुनाउन पछि पर्नुहुन्न । उहाँले सिँचाइमन्त्री भएर कार्य गरिसक्नुभएको छ ।

“विगतका निर्वाचनमा एमाले र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन हुँदा २४ हजार बढी मत ल्याएर पनि जित्न सकेनौँ”, उहाँले भन्नुभयो, “यसपटक गठबन्धन भएकाले माओवादी केन्द्रको मत जुटे जित सम्भव छ ।” दुवै पार्टीबीचका विगतका कटुताका कुरा इतिहास भइसकेकाले गठबन्धनको मर्मअनुसार मत पाउनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

एमालेका पाँच वर्षअघि चुनावमा विजयी भएका उम्मेदवारले विकासका नाममा सिन्कोसमेत भाँच्न नसकेको उहाँको आरोप छ । “पाँच वर्षअघि मैले सुरु गरेका योजनासमेत पूरा हुनसकेका छैनन्”, उहाँले भन्नुभयो, “सांसद नभएर पनि तटबन्ध निर्माणका लागि रु १० करोडका योजना चालु आवमै ल्याएको छु ।”

जनताले पत्याउने गरी काम गरिरहेको उहाँको भनाइ छ । साउद र धामी विद्यार्थी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेर पहिचान बनाउन सफल भएका हुन् । दुवै जना यस निर्वाचन क्षेत्रका सशक्त प्रतिस्पर्धीका रूपमा छन् ।

एमालेका तर्फबाट चुनावी मैदानमा रहनुभएका धामीको मतदाताबीच फरक किसिमको पहिचान छ । स्पष्ट वक्ताका रूपमा परिचित रहनुभएका उहाँ यस क्षेत्रको विकास निर्माण, निकुञ्ज विस्थापित, सुकुम्बासीका मुद्दा संसद्मा बारम्बार उठाउनेमा पर्नुहुन्छ । शुक्लाफाँटा प्राविधिक शिक्षालय स्थापना, सडक कालोपत्र, तटबन्ध निर्माणलगायतका विकासका मुद्दालाई उहाँले चुनावीसभामा सुनाउँदै आउनुभएको छ ।

“मुक्त कमैया, मुक्त हलियाका १४ शिविर यसै निर्वाचन क्षेत्रमा पर्दछन्”, उहाँले भन्नुभयो, “शिविरमा बसोबास गर्दै आएका व्यक्तिको मुख्य समस्याका रूपमा नदी कटान, डुबानसँगै रोजगारीको छ, निर्वाचनमा विजयी भए ती कार्य पूरा गर्छौँ ।”

“प्राविधिक शिक्षालयका भौतिक संरचना निर्माण गर्नका लागि रु पाँच करोड ५० लाख बजेट विनियोजन भएको छ, प्राविधिकतर्फका विभिन्न विधामा पढाइ गराउने गरी कार्य गरेकाले यसकै आधारमा मत पाउने उहाँले उल्लेख गर्नुभयो ।

“रैकवार विचवामा मात्रै चारवटा पक्की पुल निर्माणकार्य अगाडि बढेको छ, निकुञ्ज विस्थापितलाई १० कठ्ठा जग्गा वा रु ६० लाख मुआब्जा उपलब्ध गराउने नेकपा नेतृत्वको सरकारका बेला गठन भएको आयोगको सिफारिस कार्यान्वयन गराउने चुनावी मुख्य मुद्दाका रूपमा रहेको छ”, उहाँले भन्नुभयो ।

प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गर्ने, विद्यालयलाई प्रविधिमैत्री बनाउने, जनता आवास कार्यक्रमअन्तर्गत विपन्नका घर निर्माण गर्नेलाई समेत उहाँले चुनावी मुद्दाका रुपमा अघि सार्नुभएको छ । जनताको बीचमै रहेर कार्य गर्दै आएकाले गत चुनावको नतिजा दोहो¥याउने उहाँ दाबी गर्नुहुन्छ ।

विसं २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा धामीले ३३ हजार दुई सय २० मत ल्याएर विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी साउदले २४ हजार आठ सय ३९ मत ल्याएर पराजय भोग्नुपरेको थियो । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा साउदले धामीलाई पराजित गरेका थिए । यस निर्वाचन क्षेत्रमा तीनवटा नगरपालिका ३० वडा पर्दछन् । निर्वाचन क्षेत्रमा पहाडी र थारू समुदायको बसोबास छ ।

दुवै उम्मेदवार पहाडी मूलका भएकाले पहाडी समुदायको मत विभाजन हुने देखिएको छ । थारू मत निर्वाचनमा निर्णायक देखिएको छ । थारू समुदायलाई निर्वाचनमा आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारले आकर्षक चुनावी एजेण्डा अघि सारेर चुनावी प्रचारमा जुटेका छन् । थारू अगुवा वीरबहादुर राजवंशी ठूला राजनीतिक दलहरूले थारू समुदायलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार नबनाएर थारूका मुद्दा ओझेलमा पार्न खोजेको गुनासो गर्नुहुन्छ ।

थारू समुदायका मुद्दा चुनावी घोषणापत्रमा समावेश गर्ने राजनीतिक दललाई सघाउने उहाँको भनाइ छ । स्थानीय तह निर्वाचनको परिणामलाई हेर्दा तीनवटै पालिकामा कांग्रेसले २२ हजार चार सय ९९, एमालेले १९ हजार दुई सय ९२, माओवादी केन्द्रले १३ हजार चार सय ७८, नेकपा (एकीकृत समाजवादी)ले चार हजार छ सय ६७, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार सात सय ४६ मत ल्याएका थिए । सत्तारुढ गठबन्धन कांग्रेस, माओवादी, समाजवादीले ५२ हजार दुई सय १२ र एमाले सम्मिलित गठबन्धनले २१ हजार दुई सय ४२ मत ल्याएका थिए ।

स्थानीय तहको मतपरिणामलाई नियाल्दा केही मत तलमाथि भए पनि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार सहजरूपमा विजयी हुने कांग्रेस निर्वाचन क्षेत्र नं २ का सभापति लालबहादुर सिंह बताउनुहुन्छ ।

साउद र धामीसहित हाम्रो नेपाली पार्टीका जगदीश अवस्थी, नेपाली कांग्रेस (विपी)का वीरबहादुर बोहरा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका लोकराज भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीका सीताराम राना, राष्ट्रिय स्वतन्त्र पार्टीका झङ्करराज जोशी, जनमत पार्टीका प्रेमसिंह बडाल र जनता प्रगतिशील पार्टीका विद्यादेव जोशी उम्मेदवारका रूपमा छन् । निर्वाचन क्षेत्र नं २ मा एक लाख पाँच हजार पाँच सय ५७ मतदाता र एक सय १८ मतदान केन्द्र छन् ।

सम्बन्धित समाचार