काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले मर्मत तथा विस्तार कार्यका लागि आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध गर्ने भएको छ। क्षेत्रपाटी फिडर अन्तर्गत क्षेत्रपाटी चोक, पकनाजोल, टहिटी चोक, र ज्याठालगायत स्थानमा भूमिगत केवल लाइन जडान र ओभरहेड लाइन मर्मतका लागि दिउँसो १ बजेदेखि ५ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ।
त्यसैगरी, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वर्ल्ड ट्रेड सेन्टर, दशरथ रंगशाला, र ब्लु क्रस अस्पतालसम्म लाइन कटौती गरिने छ। त्रिपुरेश्वर फिडर अन्तर्गत टेकु सव स्टेशनबाट पचली भैरव, नेपाल उद्योग वाणिज्य महासंघ, टेकु चोकदेखि त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट र सुकुम्बासी टोलसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।
यस्तै, थापाथली फिडर अन्तर्गत प्रसूति गृह पूर्वगेट, नर्भिक अस्पताल, थापाथली पंचायणी मार्ग, कुरिया गाउँ, र आन्तरिक राजस्व कार्यालय पछाडिसम्म पनि दिउँसो १ बजेदेखि ५ बजेसम्म लाइन कटौती हुनेछ। प्राधिकरणले काम समयमै सम्पन्न भएमा सेवा तोकिएको समयअघि नै सुचारु गरिने जनाएको छ। विद्युत् कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।