काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज पनि अन्तिम निर्णय हुन सकेन। सर्वोच्च अदालतमा भएको सुनुवाइ नसकिएकाले मुद्दा फेरि ‘हेर्दा हेर्दैमा’ राखिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा आज रिटमाथि बहस भएको थियो। तर, बहस पूरा हुन नसकेपछि मुद्दा अर्को सुनुवाइका लागि स्थगित गरिएको हो। यसअघि पनि अदालतमा पटक–पटक सुनुवाइ भए पनि अन्तिम टुंगो लाग्न सकेको छैन।