काठमाडौँ– थुनछेक बहस नसकिएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पनि कानुन व्यवसायी र परिवारको जिम्मामा छोडिएको छ। आइतबार पुनः अदालतमा उपस्थित गराउने आदेश दिइएको छ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा आज सुप्रिम सहकारी ठगी मुद्दामा थुनछेक बहस शुरू भएको थियो। थुनछेक बहस नसकिएपछि रविलाई वकिल र पत्नीको रोहबरमा जिम्मा लगाइएको हो।
रविको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारी, र डा. नारायणदत्र कंडेल लगायतले बहस गरेका थिए। दुवैतर्फको बहस सकिएपछि जवाफी बहस हुनेछ। त्यसपछि न्यायाधीशले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने, वा साधारण तारिखमा छोड्ने बारे निर्णय गर्नेछन्।
माघ ६ गते जिल्ला अदालत रुपन्देहीमा लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा दर्ता भएको थियो। यस प्रकरणमा लामिछाने, पूर्व डीआईजी छविलाल जोशीसहित ४२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।