काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा प्रत्येक जातजातिको आफ्नै परम्परा र संस्कृति भएको र यसका संरक्षणका लागि प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ। उहाँले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देशको रूपमा परिभाषित गर्दै, प्रत्येक समुदायको संस्कृति र परम्पराको सम्मान र संरक्षणलाई अत्यन्त महत्वपूर्ण ठहराउनुभयो।
आज राष्ट्रपति भवन शीतल निवासमा दीप प्रज्वलन गर्दै सोनाम ल्होसार पर्वको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले यस पर्वको महत्वमा प्रकाश पारे। उहाँले सोनाम ल्होसार जस्ता पर्वहरूले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना फैलाउने विश्वास व्यक्त गर्नुभयो। यसले देशको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत गर्ने पनि उहाँको भनाइ थियो।
राष्ट्रपति पौडेलले नेपालमा तामाङ जातिको ठूलो समुदाय रहेको र ल्होसार पर्वको तामाङ जातिको सांस्कृतिक, धार्मिक र सामाजिक जीवनमा गहिरो महत्व रहेको बताउनुभयो। उहाँका अनुसार, यो पर्व तामाङ समुदायको सांस्कृतिक पहिचान र अस्तित्वको प्रतीक हो, जसले उनीहरूको सभ्यता र परम्परालाई संरक्षण गर्न मद्दत पुर्याउँछ।
सो अवसरमा शीतल निवासमा लामा गुरुहरूले विशेष पूजा र मन्त्रोचरण गरेका थिए, साथै तामाङ समुदायका सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिएको थियो।
राष्ट्रपति पौडेलले ल्होसार पर्वलाई तामाङ संस्कृति र गणितीय ज्योतिषको एक अभिन्न अङ्ग भन्दै यस पर्वले तामाङ समुदायको सामाजिक र सांस्कृतिक परम्परालाई मन, मस्तिष्क र हृदयमा प्रतिध्वनित गराउँछ भन्ने कुरा स्पष्ट पारे। उनले सोनाम ल्होसारको अवसरमा सबै नेपालीलाई सुस्वास्थ्य, समृद्धि र मानवता लागि शुभकामना व्यक्त गर्नुभयो।
सोनाम ल्होसार पर्व मञ्जुश्री पात्रोअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइन्छ, जसले तामाङ समुदायको ऐतिहासिक र सांस्कृतिक महत्वलाई पुनः उजागर गर्दछ।