कास्की, कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाइलाई रू ३७ लाख, मीना गुरुङलाई रू ५ लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरुङलाई रू ५ लाख, र कृष्णबहादुर गुरुङलाई रू १ लाख धरौटी माग गरेको हो।
स्रेस्तेदार राजन खनालका अनुसार अदालतले १० दिनसम्मको थुनछेक बहसपछि उक्त निर्णय गरेको हो। पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। हालसम्म ६३ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ, र धरौटीमा रिहा भएका प्रतिवादीहरूमाथि थप अनुसन्धान जारी रहने जनाइएको छ।