उच्च अदालत पोखरामा रवि लामिछानेसहित सात जनालाई थुनामा राखी अनुसन्धान गर्न माग गर्दै निवेदन दर्ता भएको छ। कास्कीको सूर्यदर्शन बचत तथा सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको आदेशमा चित्त नबुझेपछि उच्च सरकारी वकिल कार्यालय पोखराले यो निवेदन दर्ता गराएको हो।
कास्की जिल्ला अदालतले पुस २५ गते लामिछानेसहितलाई धरौटीमा छाड्न आदेश दिएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले यो आदेशमा असन्तुष्टि जनाउँदै उच्च सरकारी वकिल कार्यालयमा निवेदन पठाएको थियो।
सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा अपचलन गरेको अभियोगमा लामिछानेसहित ६३ जनाविरुद्ध मुद्दा विचाराधीन छ। यसै अभियोगमा पक्राउ परेका अन्य व्यक्तिहरूलाई पनि धरौटीमा छाडिएको छ।
पोखराको सूर्यदर्शन सहकारीबाट ६५ करोड रुपैयाँ गोरखा मिडिया नेटवर्कमा गएको अनुसन्धानले देखाएको छ। सहकारी ठगीका मुख्य योजनाकार गीतेन्द्रबाबु (जिबी) राईको राहदानी रोक्का भइसकेको छ।