भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधका आरोपमा बयान दिन भैरहवा पुगेका छन्।
लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा रकम ठगी गरेको आरोपमा प्रतिवादी बनाइएको छ। यस मुद्दामा उनलाई र अन्य ४२ जनालाई आरोपित गरिएको छ।
ठगी प्रकरणमा १ अर्ब ४३ करोड बिगो माग
यस प्रकरणमा ४२ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको आरोप छ। अदालतमा कुल १ अर्ब ४३ करोड ८६ लाख २ हजार १३५ रुपैयाँ बिगो माग गरिएको छ।
सुप्रिम बचत सहकारीमा १,९३३ जना बचतकर्ता छन्, जसमा १,८७२ जना व्यक्तिहरूले बुटवल प्रहरीमा जाहेरी दर्ता गराएका छन्।
अघिल्लो ठगी प्रकरणमा धरौटीमा रिहा
लामिछाने यसअघि पोखरा स्थित सूर्यदर्शन सहकारी र काठमाडौँको कालिमाटी स्थित स्वर्णलक्ष्मी सहकारीमा पनि रकम ठगीको आरोपमा धरौटीमा रिहा भएका थिए। कास्की र काठमाडौं अदालतले उनलाई क्रमशः ६५ लाख र ६० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गरेका थिए।
भोली लामिछाने अदालतमा उपस्थित भई आफ्नो बयान दिनेछन् र थुनछेकको बहस पनि सुरु हुनेछ ।