बिहिबार , बैसाख ३, २०८३

बिहिबार , बैसाख ३, २०८३

पृथ्वीनारायण शाहका दिव्योपदेश:अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, र छिमेकी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्ध

image

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका महानायक पृथ्वीनारायण शाहका दिव्योपदेशहरूलाई अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, र छिमेकी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्ध निर्माणका लागि मार्गदर्शक रहेको बताउनुभएको छ।

राष्ट्रिय एकता दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स-साना राज्यहरूमा छरिएको नेपाललाई एकीकृत गरेर आधुनिक नेपालको निर्माणमा हाम्रा पूर्वजहरूको योगदानलाई स्मरण गर्नुपर्नेमा जोड दिनुभएको छ।

उहाँले भन्नुभयो, “पृथ्वीनारायण शाहले टुक्रा-टुक्रामा रहेका राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको हो। इतिहासका विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले यस अभियानलाई निरन्तरता दिएकोले आज हामी सार्वभौम, स्वतन्त्र नेपाल भनेर गर्व गर्न सक्छौँ। यही आधारभूमिमा टेकेर नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतान्त्रिक, समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रूपमा घोषणा गरेका छौँ।”

पृथ्वीनारायण शाहका दिव्योपदेशहरूको महत्त्व औंल्याउँदै उहाँले तिनलाई अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, र छिमेकीहरूसँगको कूटनीतिक सम्बन्धलाई सुदृढ गर्न मार्गदर्शकका रूपमा लिनुपर्ने बताउनुभयो।

राष्ट्रपति पौडेलले राष्ट्रिय एकता दिवसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै जनताको सुख र समृद्धि हासिल गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिनुभएको छ।

“नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,” राष्ट्रपति पौडेलले भन्नुभयो।

सम्बन्धित समाचार