बिहिबार , बैसाख १३, २०८१

बिहिबार , बैसाख १३, २०८१

क्यान्सर रोगको उपचार गर्ने व्यवस्था नेपालमै हुनुपर्छ – उपराष्ट्रपति पुन

image

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा क्यान्सर रोगको रोकथाम र उपचारमा विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन्। नेपाल अर्बुद रोग निवारण संघको भक्तपुरको बोडेमा आयोजित ३२औं केन्द्रीय सभामा बोल्दै उपराष्ट्रपति पुनले भयावह रोग क्यान्सर बिरामीलाई स्वदेशमै उपचार गराउन अत्याधुनिक मेसिनसहितको विशेषज्ञ सेवाको विस्तार हुनुपर्नेमा जोड दिए ।

उपराष्ट्रपति पुनले संविधानले प्रत्येक नेपाली नागरिकलाई निशुल्क र समान पहुँचको ग्यारेण्टी गरेपनि उपचारको अभावमा गरीब जनताले विभन्न रोगबाट मृत्यु वरण गर्नुपरेकोमा दुःख व्यक्त गरे। अहिले विश्वमा मानिसले नयाँ नयाँ रोगको सामना गर्नु परेको र यस्ता रोगहरुबाट नेपाल पनि अछुतो नरहेको उनको भनाइ थियो । नेपालमा वर्षेनी ३० हजार भन्दा बढि क्यान्सर रोगबाट पीडित हुने गरेको छ भने १७ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक छ।

उपराष्ट्रपति पुनले नेपाल अर्बुद रोग निवारण संस्थाले अन्तराष्ट्रिय स्तरको डायोग्नोष्टिक केन्द्र स्थापना गर्ने योजना सफल भए क्यान्सर रोगको समयमै पहिचान गरी रोगको रोकथाममा सहयोग पुग्ने बताए। संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले क्यान्सर रोगको रोकथाम र उपचारमा पर्याप्त लगानी हुन नसकेको बताए। अध्यक्ष श्रेष्ठले क्यान्सर रोगको नियन्त्रण र उपचारमा सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्ने तयार रहेको उल्लेख गरे ।

उनले सातै प्रदेशमा क्यान्सर केयर सेन्टर स्थापनामा प्रभावकारी भूमिका खेल्ने लक्ष्य रहेको बताउँदै संस्थाले चाँडै उच्चस्तरको विश्वसनीय डायोग्नोष्टीक केन्द्रको अवधारणा अघि सारे । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले क्यान्सर रोग नियन्त्रणको प्रतिकात्मक र उपचारात्मक क्षेत्रमा गर्नुपर्ने कार्यमा झक्झक्याउने प्रतिवद्धता व्यक्त गरे। संसदमा सुर्तीजन्य पदार्थ विरुद्ध को अभियानमा संकल्प प्रस्ताव प्रस्तुत गरेको स्मरण गर्दै सरकारले यो क्षेत्रमा पर्याप्त गम्भीरता नदेखाएको जिकिर गरे ।

संस्थाको उद्घाटन कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले संस्थाको उद्देश्य पुरा गर्न सहयोग गर्ने बताए। नेपाल अर्बुद रोग निवारण संस्थाका निवर्तमान अध्यक्ष लोकेन्द्र श्रेष्ठले संस्थाको गर्विलो इतिहासलाई कायम राखी नयाँ नयाँ योजनाकासाथ उचाइ थप्नुपर्ने नेतृत्वलाइ चुनौती रहेको बताए। संस्थाको दुइ दिने केन्द्रीय सभामा ४५ जिल्लाका २ सय बढी प्रतिनिधिको उपस्थिति रहेको थियो भने सभाले संस्थाको विधानमा तेश्रो संशोधन समेत गरेको छ।

सम्बन्धित समाचार