परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजरायल सरकारसँग थप सक्रिय पहल गर्न आग्रह गरेकी छिन्। उनले काठमाडौँस्थित इजरायली राजदूत समुलिक एरी बाससँगको भेटमा विपिनको अवस्थाबारे जानकारी लिँदै जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न इजरायली सरकारसँग अनुरोध गरिन्।
राजदूत बासले इजरायल सरकारले हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला, बालबालिका, र स्वास्थ्य अवस्था कमजोर रहेका नागरिकहरूको रिहाइका लागि पहिल्यै सूची पठाएको जानकारी गराउँदै पहिलो चरणमा उनीहरूको रिहाइका लागि तयारी भइरहेको बताए।
सन् २०२३ को अक्टोबरमा प्यालेस्टाइनी हमास समूहद्वारा इजरायलमा गरिएको आक्रमणमा १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। त्यस घटनापछि हमासले केही व्यक्तिलाई अपहरण गरेकोमा विपिन जोशी पनि परेका थिए।
नेपाल सरकारले विपिनको रिहाइका लागि कूटनीतिक प्रयास जारी राखेको छ। संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चहरू, साथै द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा पनि डा. राणाले अन्तर्राष्ट्रिय समुदायलाई यो मुद्दामा समर्थन गर्न आग्रह गरिरहेकी छिन्।
यो प्रयासले विपिन जोशीसहित अन्य अपहरणमा परेकाहरूको शीघ्र र सुरक्षित रिहाइका लागि सकारात्मक परिणाम ल्याउने अपेक्षा गरिएको छ।