शुक्रबार , बैसाख १४, २०८१

शुक्रबार , बैसाख १४, २०८१

काबुलस्थित रुसी दूतावास बाहिर आत्मघाती आक्रमण

image

काबुल। अफगानिस्तानको काबुलस्थित रुसी दूतावास बाहिर सोमबार भएको विस्फोटमा २० जनाको मृत्यु भएको छ । मारिनेमा दुई जना रुसी कूटनीतिज्ञ थिए । रुसी सरकारी सञ्चारमाध्यम आरटीले अफगानिस्तानको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै यो समाचार दिएको हो । एक वर्षभन्दा बढी समयअघि तालिबानले आफ्नो कब्जामा लिएपछि काबुलमा आफ्नो दूतावास कायम गर्ने केही देशमध्ये रुस पनि एक हो। यद्यपि मस्कोले तालिबान सरकारलाई आधिकारिक रूपमा मान्यता दिएको छैन, तर उनीहरूले पेट्रोल र अन्य वस्तुहरू आपूर्ति गर्न अधिकारीहरूसँग सम्झौता गरिरहेका छन्।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार अफगान प्रहरीले काबुलस्थित रुसी दूतावासको प्रवेशद्वार नजिकै आत्मघाती बम विस्फोट गराएको बताएको छ । दूतावासको सुरक्षामा खटिएका सशस्त्र गार्डहरूले आत्मघाती आक्रमणकारीलाई पहिल्यै पहिचान गरी गोली हानेको प्रहरीले जनाएको छ। तैपनि उनी दूतावासको गेट नजिकै पुग्न सफल भए । रुसी दूतावास रहेको इलाकाका प्रहरी प्रमुख मौलावी साबिरले रोयटर्सलाई भने कि आत्मघाती हमलाकारीलाई रुसी दूतावासको सुरक्षामा खटिएका तालिवान गार्डहरूले गेटमा पुग्नुअघि नै पहिचान गरी गोली हानेको बताए।

उल्लेखनीय कुरा के छ भने सेप्टेम्बर २ मा अफगानिस्तानको हेरात प्रान्तको गुजरगाह मस्जिदमा भएको भीषण बम विस्फोटमा १४ जनाको मृत्यु भएको थियो भने २०० जना गम्भीर घाइते भएका थिए । यस हमलामा मस्जिदका इमाम मौलवी मुजीब रहमान अन्सारीको पनि मृत्यु भएको थियो । मौलवी मुजीब रहमान अन्सारीलाई तालिबानका नजिकका धर्मगुरु मानिन्थ्यो। उनलाई इस्लाम धर्मका महान विद्वान पनि मानिन्थ्यो ।

सम्बन्धित समाचार