शुक्रबार , बैसाख १४, २०८१

शुक्रबार , बैसाख १४, २०८१

मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश

image

दुईपटकको विश्वविजेता तथा साविक विजेता फ्रान्स लगातार दोस्रोपटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । फिफा विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले अफ्रिकी राष्ट्र मोरक्कोलाई २-० गोलको सहज जीत निकाल्दै फाइनल उपाधीको यात्रा पक्का बनाएको हो ।

आज बिहान अल बेयत रंगशालामा भएको खेलमा फ्रान्सलाई खेलको चौथो मिनेटमै फरवार्ड हर्नान्डेजले रिबाउन्डबाट आएको बललाई सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए । खेलअघि आफ्नो मुख्य डिफेन्डर नाएफ अगुएर्डको साथ गुमाएको मोरक्कोले पहिलो हाफको २० मिनेट नबित्दै आफ्नो कप्तान रोमन साइसको साथ पनि पाउन सकेन ।

आफ्ना मुख्य दुवै डिफेन्डर चोटका कारण बाहिरिएपनि मोरक्कले थुप्रै सिर्जना र अवसरहरु बुन्दा गोल गर्न भने सकेन । पहिलो हाफ १-० ले पछि परेको मोरक्कोलाई दोस्रो हाफको ७९औं मिनेटमा रान्दल कोलो मुआनीले वैकल्पिक खेलाडीका रुपमा मैदान छिर्ने बित्तिकै गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए ।

किलियन एम्बाप्पेले चार खेलाडीलाई बिट गर्दै दिएको पासमा मुआनीले सिङ्गल टचमै गोल गर्न सफल भएका हुन् । अब फ्रान्सले उपाधी जित्नका लागि फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ ।

फिफा विश्वकप २०२२ को फाइनल खेल भने आउँदो आइतबार बेलुकी ८.४५ बजे हुनेछ । त्यसैगरी फिफा विश्वकप २०२२ को तेस्रो स्थानका लागि हुने खेल भने क्रोएसिया र मोरक्कोबीच आउँदो शनिवार बेलुकी ८.४५ बजे खेलिने तालिका रहेको छ ।-

सम्बन्धित समाचार