शनिबार , बैसाख १५, २०८१

शनिबार , बैसाख १५, २०८१

क्रिकेट कप्तान लामिछाने निलम्बित

image

काठमाडौं, भदौ २३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने निलम्बित हुनुभएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपमाथि लागेको बलात्कार आरोपमाथि छानबिनमा सहयोग गर्न कप्तान र राष्ट्रिय टिमबाट निलम्बन गरेको हो । क्यानले विज्ञप्ति जारी गर्दै छानबिनमा सहयोग गर्न सन्दीपलाई निलम्बन गरिएको उल्लेख गरेको छ ।

बिहीबार नै लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोपमा कप्तान लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

भदौ ५ गते मध्यराति काठमाडौंको एक होटलमा पुर्‍याएर किशोरीमाथि बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा मङ्गलबार उजुरी परेको थियो । उजुरी परेसँगै प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको छ ।

लामिछाने हाल क्यारेबियन लिग क्रिकेटका लागि वेस्ट इण्डिज पुग्नुभएको छ । क्यानसँगको फोन वार्तामा लामिछानेले आफूले जबरजस्ती करणी नगरेको दाबी गर्दै कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर क्यानका सचिव प्रशान्त मल्लले जानकारी दिएका छन् ।

लामिछाने केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज खेलेर उतैबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज जानुभएको हो । केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा भने लामिछानेको स्थानमा रोहित पौडेलले नेपालको कप्तानी सम्हाल्नुभएको थियो ।

नेपालले केन्याविरुद्ध टी–२० सिरिज ३–२ ले जितेको थियो । एकदिवसीयमा भने नेपालले ‘क्लिन स्वीप’ गरेको थियो । नेपाली टोली आजै (बुधबार) स्वदेश फर्कदैछ । लामिछानेको नेतृत्वमा नेपाली टोली केन्याविरुद्ध सिरिज खेल्न भदौ ६ गते केन्या प्रस्थान गरेको थियो ।

त्यसैको अघिल्लो दिन भदौ ५ गते लामिछानेले आफूमाथि जबरजस्ती करणी गरेको उजुरी किशोरीले दिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रहरीका अनुसार ती किशोरीले उजुरीमा आफूले स्न्याप च्याटमार्फत प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसैको आधारमा भेट्न बोलाएर भदौ ५ गते नगरकोट घुमाउन लगेको उल्लेख गरेकी छन् । किशोरीले नगरकोटबाट त्यही रात फर्किएर काठमाडौंको गौशाला नजिक एक होटलमा लगेर आफूलाई लामिछानेले जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् ।

सन् २०१६ देखि नेपाली राष्ट्रिय टोलीमा खेल्दै आउनुभएका लामिछाने चर्चित इन्डियन प्रिमियर लिग, बिग बास लिग जस्ता अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आउनुभएको छ । यसै वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तान बन्नुभएका लामिछाने विश्व चर्चित क्रिकेटर हुनुहुन्छ ।

सम्बन्धित समाचार